रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता
जिल्ला अदालतले कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन सरकारी पक्षले दिएको निवेदन स्वीकृत गरेको छ ।
अदालतको यस आदेशसँगै अब लामिछानेसहितका प्रतिवादीहरूमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी सम्बन्धी आरोप मात्रै कायम रहने भएको छ ।
जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीबाट दर्ता भएको निवेदनमाथि सुनुवाइ गर्दै संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउन अनुमति दिएको हो ।
अदालतका स्रेस्तेदार राजन खनालका अनुसार सरकारी पक्षले अनुसन्धान तथा प्रमाणको पुनरावलोकनपछि ती दुई कसुर कायम राख्न पर्याप्त आधार नदेखिएको निष्कर्षसहित अभियोग संशोधनको प्रक्रिया अघि बढाएको थियो ।
अदालतको पछिल्लो आदेशसँगै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा कसुरमा अभियोजन गरिएको सूर्यदर्शन सहकारी प्रकरणका मुख्य अभियुक्त मानिएका जीबी राई (गितेन्द्रबाबु राई), पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूविरुद्ध अब सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै अघि बढ्नेछ ।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले सरकारी अनुसन्धान, उपलब्ध प्रमाण तथा कानुनी आधारको पुनरावलोकनपछि सहकारी ठगीसम्बन्धी अभियोग कायम राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप फिर्ता लिने निर्णय गर्नुभएको थियो ।
सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानपछि २०८१ असोज १८ गते कास्की जिल्ला अदालतमा लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
अभियोजनपत्रमा सहकारीका बचतकर्ताको रकम हिनामिना गरिएको आरोप लगाउँदै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुर उल्लेख गरिएको थियो ।
सरकारी पक्षले सहकारीको रकम विभिन्न कम्पनी तथा व्यक्तिमार्फत परिचालन गरिएको दाबी गर्दै आर्थिक कारोबारको शृंखलाबारे अनुसन्धान अघि बढाएको थियो ।
यस प्रकरणमा लामिछानेलाई २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । त्यसअघि अनुसन्धानका लागि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
कास्की जिल्ला अदालतको पछिल्लो आदेशले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी कानुनी जोखिम हटाएको भए पनि सहकारी ठगी मुद्दाको सुनुवाइ भने निरन्तर जारी रहनेछ ।
अब अदालतले सहकारीका बचतकर्ताको रकम अपचलन भएको वा नभएको, रकमको प्रयोग कसरी भयो तथा प्रतिवादीहरूको भूमिका के थियो भन्ने विषयमा मुख्य मुद्दाको अन्तिम किनारा लगाउनेछ ।
तीनवटा कसुरसहित सुरु भएको सूर्यदर्शन सहकारी प्रकरण अहिले सहकारी ठगी मुद्दामा सीमित बनेको छ भने बाँकी दुई अभियोग अदालतको स्वीकृतिसँगै औपचारिक रूपमा हट्ने प्रक्रियामा पुगेका छन् ।




प्रतिक्रिया राख्नुहोस्