राजनीति

बाँदर व्यवस्थापन नीति ल्याएर विशेष सुरक्षा क्षेत्र घोषणा गर्न माग

प्रतिनिधिसभाको आज बुधबारको बैठको आकस्मिक समयमा सांसदहरूले बाँदरले किसानलाई दिएको सकसका साथै बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद श्रीराम न्यौपानेले बाँदरका कारण पीडित भएका किसानलाई राहत दिन विशेष बाँदर सुरक्षा क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

उहाँले बाँदर अति चलाख हुने भएकाले बाघको डमी र आवाज प्रयोग गर्दा पनि दुई वर्षभन्दा बढी काम नगरेको बताउँदै बाँदर नियन्त्रण नीति ल्याएर देशभर बढिरहेको बाँदरको समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

सांसद जनकसिंह धामीले कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रमा वीरेन्द्र ठगुन्ना र उहाँको परिवार बाघको आक्रमणबाट घाइते भएको विषयमा ध्यानाकर्षण गराउँदै वन्यजन्तुको आक्रमणबाट हुने यस किसिमको क्षति नियन्त्रण गर्न माग गर्नुभयो ।

सांसद अनुष्का श्रेष्ठले ट्राफिक व्यवस्थापनमा सुधार देखिए पनि अझ व्यवस्थित गर्न अनुरोध गर्नुभयो । त्यस्तै सांसद साजिदा खातुन सिद्धिकीले ‘डायलाइसिस’ गर्ने मेसिन देशका सबै अस्पतालमा उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद हरिमोहन भण्डारीले बैतडीमा असिनाबाट कृषिबालीमा क्षति भएको जनाउँदै भीषण वर्षापछिको बाढी, पहिराबाट हुने मानवीय क्षति हुन नदिन बस्ती सार्ने वा पहिरो नियन्त्रण गर्ने कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो ।

सांसद निष्कल राईले कामको सिलसिलामा विदेशमा रहेका नेपालीले दुःख व्यहोर्नुपरेको उल्लेख गर्दै क्रोयसियामा सडक दुर्घटनामा निधन भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।

सांसद रमेशकुमार सापकोटा हावाहुरीका कारण कर्णालीका विभिन्न जिल्लामा बिजुली अवरुद्ध भएको अवगत गराउनुभयो । सांसद ऐनबहादुर महरले सिंहदरबारभित्रको संसद् भवनलाई हतारमा नभई सही र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.