मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा चीनलाई १९ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले पूजा महतोको ६३ रनको अद्र्धशतकीय पारीको मद्दतमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ४, सोनी पाख्रिन १८, कविता कुँवर ५, रुवी पोद्दार २२ र रुविना क्षेत्री ४ रनमा अविजीत रहेको खेलमा इन्दु बमौ शून्यमा आउट भइन् । नेपालले दिएको १२६ रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो ।
चीनका लागि कप्तान मिङ्गुइ ज्हुले २८ बलमा ३० रनको बनाइन् भने वांग हुइयिङ्गले २१ रन जोडिन् । यस्तै वेई हैटिंगले १८ र जियापिंग लिले १५ रन बनाए । नेपालको लागि रिया शर्माले दुई विकेट लिइन् भने मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोको भागमा समान एक-एक विकेट लिए ।

आफ्नो पहिलो खेलमा चीनले इन्डोनेसियालाई तीन विकेटले पराजित गर्दै जित हासिल गरेको थियो । विभिन्न छ राष्ट्र सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन र इन्डोनेसिया छन् । छनोटमा नेपालले समूह चरणको अन्तिम खेलमा बिहिबार इन्डोनेसियासँग खेल्नेछ ।
त्यसैगरी, समूह ए मा भने आयोजक मलेसिया, हङ्कङ र थाइल्यान्ड छन् । प्रतियोगिताका शीर्ष तीन स्थान हासिल गर्ने टोलीले यसैवर्ष जापानमा हुने २० एसियाली खेलकुद प्रतियोगितामा भाग लिने पाउने छन् ।




प्रतिक्रिया राख्नुहोस्