राजनीति

आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्नुभएको छ ।

१९औँ गणतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले भन्नुभएको छ, “गणतन्त्र दिवसको यस सुखद् अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु ।”

हाम्रो राष्ट्रिय लक्ष्य अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन भएको उल्लेख गर्दै उहाँले यस गौरवमय दिनको पृष्ठभूमिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय अग्रजहरूप्रति उच्च सम्मान पनि व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तनमात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा माध्यम हो, गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तबमात्र झल्किन्छ, जब समाजको किनारामा रहेका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि ‘राज्य मेरो सहारा हो’ र ‘म यो देशको सम्मानित नागरिक हुँ’ भन्ने अनुभूति गर्न पाउँछन् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.