विश्व समाचार

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन ।

इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका

ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्र सम्झौता अगाडि बढाइने धारणा व्यक्त गर्नुभएको बताइएको छ ।

यसअघि अमेरिका र इरानका प्रतिनिधिहरूबीच प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएको थियो । प्रस्तावित सहमतिअनुसार हालको युद्धविरामलाई थप ६० दिनसम्म कायम राख्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषय समावेश छ ।

राष्ट्रपति ट्रम्पले इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला राखिनुपर्ने तथा समुद्री मार्गमा रहेका बारुदी उपकरणहरू हटाइनुपर्ने धारणा राख्नुभएको छ ।

उता, इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले विश्वास केवल व्यवहारिक कदमबाट स्थापित हुने बताउनुभएको छ । उहाँले दुवै पक्षबाट ठोस कार्यान्वयन भएपछि मात्र थप प्रगति सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ ।

अमेरिका र इरानबीचको वार्ता जारी रहे पनि सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.