अर्थ

तनहुँका पूर्वाधार र पर्यटन योजनामा सरकारको जोड

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तनहुँ जिल्लासँग सम्बन्धित विभिन्न पूर्वाधार, ऊर्जा तथा पर्यटन प्रवर्द्धनका योजनालाई प्राथमिकतामा राखेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सडक, विद्युत् प्रसारण, जलविद्युत् तथा पर्यटन क्षेत्रका महत्त्वपूर्ण योजनालाई अगाडि बढाइने घोषणा गर्नुभएको हो ।

बजेट वक्तव्यअनुसार मुग्लिन–आँबुखैरेनी सडक निर्माण सुरु गरिने भएको छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डलाई स्तरोन्नति गर्दै सुरक्षित, व्यवस्थित तथा सहज यातायात सञ्चालनका लागि निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ ।

यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ । मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत्गृहको पारिपट्टिसम्म थप सडकको रेखाङ्कन गरिएको जनाइएको छ ।

त्यसैगरी, राष्ट्रिय महत्वको तनहुँ जलविद्युत् आयोजनाको निर्माणलाई तीव्रता दिइने अर्थमन्त्री वाग्लेले बताउनुभयो । एक सय ४० मेगावाट क्षमताको उक्त आयोजना सम्पन्न भएपछि देशको ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । हालसम्म आयोजनामा ७५.५ प्रतिशत भौतिक प्रगति भएको छ ।

ऊर्जा पूर्वाधारअन्तर्गत न्यू दमौली प्रसारण लाइन निर्माणलाई समेत तीव्रता दिइने घोषणा गरिएको छ । प्रसारण लाइन विस्तारले विद्युत् आपूर्ति प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ ।

पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै सरकारले परीक्षणका रूपमा व्यास–छाब्दीबाराही–बन्दीपुर–छिम्केश्वरी–लाब्दी–देवघाट मार्गमा साइकल ट्रेल निर्माण गर्ने योजना अघि सारेको छ ।

प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त रुटलाई साहसिक तथा ग्रामीण पर्यटनसँग जोड्दै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताइएको छ ।

घोषित साइकल ट्रेलले तनहुँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एउटै रुटमार्फत जोड्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।

विशेषगरी बन्दीपुर, छिम्केश्वरी र देवघाटजस्ता चर्चित गन्तव्यलाई समेटिएको यस रुटले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाले साइकल ट्रेल निर्माणले ग्रामीण पर्यटन, होटल व्यवसाय, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सृजनामा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

साथै पर्यावरणमैत्री पर्यटन प्रवर्द्धनमा समेत यस्तो अवधारणाले महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बन्दीपुरका पर्यटन व्यवसायी वैशबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.