आज विश्व सुर्तीजन्य पदार्थरहित दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का सदस्य राष्ट्रहरूले सन् १९८७ मा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले यो दिवसको सुरुआत गरेका हुन्।
हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि डब्ल्युएचओले गरिरहेका प्रयास तथा स्वस्थ जीवनशैली प्रवर्द्धन र भावी पुस्ताको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु हो।
सन् १९८७ मा विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्ताव डब्लुएचए ४०.३८ अनुसार सन् १९८८ अप्रिल ७ लाई ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाउने निर्णय गरिएको थियो। त्यसपछि सन् १९८८ मा पारित प्रस्ताव डब्लुएचए ४२.१९ अनुसार हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउन थालिएको हो।
डब्ल्युएचओका अनुसार विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका मुलुकमा बसोबास गर्छन्।
पछिल्ला वर्षमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क यसको प्रयोगमा संलग्न छन्। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको डब्ल्युएचओले जनाएको छ।
यस वर्षको दिवसका अवसरमा डब्ल्युएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष पहल गर्न आग्रह गरेको छ।
सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ३ करोड ७० लाख बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। साथै, विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ तीव्र रूपमा बढिरहेको छ।
डब्ल्युएचओले सुर्ती तथा निकोटिनजन्य उत्पादन बनाउने कम्पनीहरूले आफ्ना उत्पादनलाई आकर्षक, प्रयोग गर्न सहज र छोड्न कठिन बनाउने रणनीति अपनाइरहेको जनाएको छ। विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत किशोर तथा युवालाई लक्षित गरिएको डब्ल्युएचओको भनाइ छ।
डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगका अनुसार सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको मृत्यु भइरहे पनि ठूला कम्पनीहरूले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्दै नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास गरिरहेका छन्।
निकोटिन अत्यधिक लत लाग्ने तथा स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर र युवाका लागि यसको असर गम्भीर हुन सक्ने डब्ल्युएचओले चेतावनी दिएको छ।
हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ भने किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।
डब्ल्युएचओले हालै सार्वजनिक गरेको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत यसको व्यापक प्रचारप्रसार भइरहेको उल्लेख गरिएको छ।
आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद तथा जीवनशैलीसँग जोडिएका विज्ञापन अभियानमार्फत युवालाई आकर्षित गर्ने रणनीति अपनाइएको प्रतिवेदनमा जनाइएको छ।
प्रतिवेदनअनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियामकीय व्यवस्था छैन। विश्वव्यापी रूपमा यसको बिक्री तीव्र गतिमा बढिरहे पनि पर्याप्त नियमनको अभावमा लाखौँ मानिस स्वास्थ्य जोखिममा परेको डब्ल्युएचओको निष्कर्ष छ।
सुर्तीबाट वार्षिक ८० लाखभन्दा बढीको मृत्यु, नयाँ पुस्तालाई निकोटिन लतबाट जोगाउने चुनाैति
डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन रोक्न, सार्वजनिक भित्री स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउन आग्रह गरेको छ।
सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिँदै डब्ल्युएचओले स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्