जापान

टोकियोको सिबुया वार्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउन सुरु

जापानको राजधानी टोकियोस्थित चर्चित पर्यटकीय क्षेत्र सिबुया वार्डले आफ्नो क्षेत्रलाई सफा राख्ने अभियान अन्तर्गत सडक, पार्क तथा सार्वजनिक स्थलहरूमा जथाभाबी फोहोर फाल्नेहरूलाई जरिवाना तिराउन सुरु गरेको छ।

सिबुया वार्डले सोमबारदेखि जथाभाबी फोहोर फाल्नेलाई २,००० येन (करिब १२.५ अमेरिकी डलर) जरिवाना लगाउन थालेको हो। यो प्रशासनिक नियम र जरिवाना सिबुया वार्डको सम्पूर्ण क्षेत्रमा लागू हुनेछ।

लामो समयदेखि फोहोर मैलाको समस्या समाधान हुन नसकेपछि वार्डले गत वर्ष नै सम्बन्धित निर्देशिका परिमार्जन गरी जरिवानाको व्यवस्था गरेको थियो।

अधिकारीहरूका अनुसार सिबुया र वरपरका व्यस्त स्टेशनहरूमा विदेशी पर्यटकसहित धेरै मानिसहरूले खुला सडकमा मदिरा पिउने र जथाभाबी फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको छ।

यो नियमलाई कडा रूपमा लागू गर्न वार्डका कर्मचारीसहित करिब ५० जनाको गस्ती टोली परिचालन गरिएको छ। उक्त टोलीले मुख्य गरी स्टेशन वरपरका क्षेत्रहरूमा अनुगमन गर्ने र जथाभाबी फोहोर फाल्नेलाई तत्कालै जरिवाना गर्ने वार्डले जनाएको छ।

नियम उल्लंघन गर्नेहरूले जरिवाना रकम तुरुन्तै नगदमा भुक्तानी गर्नुपर्नेछ। यद्यपि, नगद नहुनेहरूका लागि क्रेडिट कार्ड वा क्यूआर कोड मार्फत पनि भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।

वार्डका एक अधिकारीका अनुसार केवल शिष्टाचार र चेतनाका कुराहरू गरेर मात्र फोहोर फाल्ने क्रम नरोकिएपछि यो कडा कानुनी सजायको व्यवस्था गर्नुपरेको हो।

यसबाहेक, सिबुया वार्डले गत अप्रिल महिनादेखि नै अर्को नियम पनि लागू गरिसकेको छ। जसअनुसार तोकिएका क्षेत्रभित्र ‘टेक-आउट’ (प्याक गरेर लैजाने) खानेकुरा र पेय पदार्थ बेच्ने डिपार्टमेन्टल स्टोर, क्याफे र अन्य पसलहरूले आफ्ना ग्राहकहरूका लागि अनिवार्य रूपमा डस्टबिन को व्यवस्था गर्नुपर्ने नियम बनाइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.