निष्पक्ष पेशाकर्मी र राजनीतिक रूपमा सिकारुहरूले स्थापना गरेको एउटा राजनीतिक दलले चार वर्षभन्दा कम अवधिमा संसद्मा झन्डै दुईतिहाइ बहुमत हासिल गर्नु र विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री निर्वाचित गराउनु राजनीतिक इतिहासको सामान्य घटना होइन।
त्यसैले नेपालमा के भइरहेको छ र देश कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने विषयमा विश्वभर चासो हुनु स्वाभाविक हो। एक हजार माइलभन्दा बढी खुला सीमा साझेदारी गर्ने निकट छिमेकी भारतका लागि यो चासो अझ स्वाभाविक छ।
नेपालको यो रूपान्तरणको कथा सडक हिंसा, सैनिक ‘कू’, विदेशी हस्तक्षेप वा संवैधानिक शून्यताले लेखेको होइन। बरु यो शान्तिपूर्ण र लोकतान्त्रिक ‘मतपेटिका क्रान्ति’ हो।
विश्वका धेरै समाज ध्रुवीकरण, सत्ताप्रतिको अविश्वास र भ्रष्ट राजनीतिबाट ग्रस्त भई गैरलोकतान्त्रिक विकल्पतर्फ आकर्षित भइरहेका बेला नेपालले लोकतन्त्र अझै पनि बहुलवादी समाजमा परिवर्तनको शक्तिशाली माध्यम हुनसक्ने प्रमाणित गरेको छ।
आजको नेपाल अनिश्चित भविष्यतर्फ होइन, समृद्ध र जीवन्त लोकतन्त्रको महत्वाकांक्षी यात्रातर्फ अघि बढिरहेको छ। हाम्रो मूल मन्त्र स्पष्ट छ—कडा सुशासन, जनताप्रति प्रत्यक्ष जवाफदेहिता र विकासमुखी राजनीति।
नयाँ राजनीतिक यथार्थ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको नयाँ राजनीतिक यथार्थ हो। यसले जडवत् राजनीतिक संरचनालाई चुनौती दिँदै युवापुस्तालाई परिणाममुखी राजनीतिमा आकर्षित गरेको छ। रास्वपाले प्राप्त गरेको मत आक्रोश र आशा दुवैको अभिव्यक्ति हो, जसले परिवर्तनको अभूतपूर्व जनादेश दिएको छ। यही कारणले युवा, समावेशी र स्वच्छ छविका व्यक्तिहरू निर्वाचित हुन सके।
हामीसँग नेपालको परराष्ट्र नीति रूपान्तरण गर्न आवश्यक सबैभन्दा ठूलो सम्पत्ति छ—विगतको बोझ छैन। हामी पुराना वैमनस्यताले बाँधिएका छैनौं। हामी सार्वभौम सन्धि र जनस्तरका सम्बन्धबाट जोडिएका छौं, तर विगतका नेताहरूका गोप्य समझदारी र स्वार्थपूर्ण सम्झौताबाट मुक्त छौं। हामी भारत र विश्वलाई खुला मन, स्पष्ट दृष्टि र पारदर्शी एजेन्डासहित हेर्छौं—नेपालको आर्थिक रूपान्तरण।
नेपाल र भारत केवल दुई देश होइनन्, एक गौरवशाली र प्राचीन सभ्यताका साझेदार हुन्। रामको कथा जनकपुर र अयोध्यालाई जोड्दा मात्र पूर्ण हुन्छ। पशुपतिनाथ र केदारनाथको सम्बन्धले मात्रै धार्मिक आस्था पूर्णता पाउँछ। लुम्बिनी र बोधगयालाई जोड्दा मात्रै महान सभ्यताको उद्गमस्थलको अर्थ प्रकट हुन्छ।
तर हामी आत्मसन्तुष्टिमा रमाउने पक्षमा छैनौं। पुराना घिसेपिटेका नाराभित्र आफ्ना कमजोरी लुकाउन पनि चाहँदैनौं। हामी नेपाल–भारत सम्बन्धले के हासिल गर्यो भन्नेभन्दा यसले के हासिल गर्न सक्थ्यो र भविष्यमा के बन्न सक्छ भन्नेमा केन्द्रित हुन चाहन्छौं।
सीमाभन्दा अर्थतन्त्र जोडौं
सीमापार हेर्दा हामीले आफूलाई आमूल परिवर्तन गरेको भारत देख्छौं। पुराना प्रशासनिक बन्धनबाट मुक्त हुँदै भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्दो अर्थतन्त्रमध्ये एक बनेको छ। यो उपलब्धिप्रति हाम्रो सम्मान छ, त्यसैले हामी विकासका साझेदार बन्न चाहन्छौं।
भारत दैनिक करिब १५ किलोमिटर रेलमार्ग विस्तार गर्दै विश्वस्तरीय रेल पूर्वाधार निर्माणमा अग्रसर छ। यस्तो अवस्थामा प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्ग त १५० किलोमिटरभन्दा पनि कम दूरीको छ। त्यो रेलमार्ग निर्माण भएको दिन व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउनेछ। नेपाल सीमामात्र जोड्न चाहँदैन, सम्पूर्ण अर्थतन्त्र जोड्न चाहन्छ।
हामी केवल नयाँदिल्लीतर्फ मात्र होइन, भारतका विभिन्न राज्यमा भइरहेको गतिशील विकासलाई पनि नियालिरहेका छौं। भारतको उड्डयन क्षेत्रको तीव्र विस्तारले हामीलाई प्रेरित गरेको छ।
पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेंगलुरुसम्म प्रत्यक्ष उडान किन नहोस् ? आन्ध्र प्रदेश र तेलंगानाले सूचना प्रविधिमा विकास गरेको सफल पारिस्थितिक प्रणालीबाट सिक्दै काठमाडौं–बेंगलुरु डिजिटल करिडोर किन नबनाउने? गुजरातको औद्योगिक विकासले नेपाल–भारत सीमामा रासायनिक मल उद्योग स्थापना गर्ने सहकार्यलाई प्रेरित गर्न सक्दैन र ?
हामी नेपालमा आईआईटी र एम्सजस्ता प्रतिष्ठित संस्थाहरूको उपस्थिति चाहन्छौं। भारतीय सूचना प्रविधि कम्पनी, स्टार्टअप र विश्वविद्यालयहरूलाई हामी भन्छौं—नवप्रवर्तन प्रयोगशाला, इन्क्युबेसन केन्द्र र प्रविधि हब स्थापना गरेर नेपाललाई नवप्रवर्तनको साझेदार बनाउनुहोस्।
नेपालसँग प्रतिभाशाली युवा, प्रशस्त स्वच्छ ऊर्जा र विकसित हुँदै गएको डिजिटल प्रणाली छ। भारतको परिष्कृत प्रविधि वातावरणको थोरै सहयोगले यी क्षमताले अझ ठूलो रूप लिन सक्छन्। डिजिटल भुक्तानी, फिनटेक र सीमापार प्रविधि प्लेटफर्ममार्फत दुवै देशका साना उद्यमीलाई सशक्त बनाउन सकिन्छ।
विकास कूटनीतितर्फको मोड
रास्वपा नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक तनावको शब्दावलीबाट बाहिर निकालेर विकास कूटनीतिमा केन्द्रित गर्न चाहन्छ। हाम्रो मुख्य लक्ष्य कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार र आर्थिक साझेदारीका इन्जिन बनाउनु हो। हामी यस्तो सम्बन्ध चाहन्छौं जसको प्रत्यक्ष लाभ दुवै देशका सामान्य नागरिकको जीवनमा देखियोस्।
नेपालको जलविद्युत् सम्भावना अब केवल घरेलु सम्पत्ति मात्र होइन, उदाउँदो भारतका औद्योगिक क्षेत्रलाई ऊर्जा दिन सक्ने हरित स्रोत हो। त्यसैले सीमापार ऊर्जाव्यापारलाई टुक्रे व्यवस्थाबाट एकीकृत ऊर्जा बजारतर्फ लैजानुपर्छ।
टमाटरको मूल्य वा मेसिनरीको ढुवानी प्रशासनिक झन्झटले निर्धारण हुने अवस्था अन्त्य हुनुपर्छ। आधुनिक, डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) र उन्नत पारवहन करिडोरले सीमालाई अवरोध होइन, सहज पुलमा रूपान्तरण गर्नुपर्छ।
हिमालयका शिखरदेखि जनकपुर, लुम्बिनी र बोधगयासम्म फैलिएको धार्मिक तथा सांस्कृतिक पर्यटन हाम्रो साझा सम्पत्ति हो। प्रशासनिक झन्झटबिना विश्वका पर्यटकले साझा सभ्यता अनुभव गर्न सक्ने पर्यटन परिपथ निर्माण गर्नुपर्छ।
हालै अहमदाबादमा भएको आईपीएल फाइनल हामीले प्रत्यक्ष हेरेका मात्र होइनौं, नेपाली खेलाडी र नेपाली रंगशालालाई आईपीएल संरचनामा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा पनि गम्भीर रूपमा सोचिरहेका छौं।
विश्वासको आधार निर्माण
कृषि, स्वास्थ्य, साइबर सुरक्षा र विपद् व्यवस्थापनलगायत असंख्य क्षेत्रमा सहकार्यको सम्भावना छ। तर त्यसको आधार भने विश्वास नै हो। मूलभूत विषयहरूलाई थाती राखेर साँचो मित्रता निर्माण गर्न सकिँदैन।
हजारौं वर्ष पुराना सभ्यतागत सम्बन्ध भएका छिमेकीका रूपमा हालैका विवादहरू अनन्तकालसम्म लम्बिनु हुँदैन। ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा समाधान खोज्नुपर्छ। परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने अति राष्ट्रवादी भाषाप्रति हाम्रो असहमति छ। यसको विकल्प प्रमाणमा आधारित संवाद र निर्वाचनको गणनाबाट मुक्त व्यावहारिक दृष्टिकोण हो।
स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सीमाका लागि स्वाभाविक सुरक्षा कवच हो। राजनीतिक रूपमा अस्थिर नेपालले भारतलाई पनि चिन्तित बनाउँछ। त्यसैले नेपालको आर्थिक विकास भारतका लागि पनि रणनीतिक आवश्यकता हो।
ऐतिहासिक अवसर
इतिहासले कसैलाई असीमित अवसर दिँदैन, केवल छोटो समयका अवसरका झ्याल खोल्छ। सन् २०२६ को यो समय नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दशकौंयताकै सबैभन्दा अनुकूल अवसर हो।
अस्थिरता र भ्रष्टाचारले चिनिएको विगत ३० वर्षको नेपाल अब इतिहास बनिसकेको छ। आज हामीसँग जागरूक युवा मतदाताको बलियो जनादेश छ, जसले राजनीतिक सम्झौता होइन, व्यावसायिक कार्यान्वयनको भाषा बोल्ने नेतृत्व चुनेका छन्। हामी नीतिगत निरन्तरता, पारदर्शिता र इमानदारिताप्रति प्रतिबद्ध छौं।
रास्वपा तयार छ, किनकि नेपाली जनता तयार छन्। हामी विगतका आशंका होइन, साझा भविष्यका असीम सम्भावनामा आधारित साझेदारी निर्माण गर्न चाहन्छौं।
यस सम्बन्धलाई पुनः परिभाषित गर्ने क्रममा हामीसँग एउटा ऐतिहासिक स्मृति छ—३ अगस्ट २०१४। त्यस दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संसद्लाई मात्र सम्बोधन गर्नुभएन, नेपाली जनतासँग प्रत्यक्ष संवाद पनि गर्नुभयो। उहाँले नेपाल–भारत सम्बन्ध हिमालय र गंगाजत्तिकै प्राचीन रहेको बताउँदै सीमा अवरोध होइन, पुल बन्नुपर्ने दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो।
त्यसयता बागमती र गंगामा धेरै पानी बगिसकेको छ। नदीहरू पहाडसँग सम्झौता गर्दैनन्, आफ्नै बाटो बनाउँछन्। नेपाल र भारतले पनि त्यही बाटो खोज्नुपर्छ। विश्वास र आत्मीयताको त्यो सम्बन्ध पुनःस्थापित गर्नुपर्ने विकल्प हामीसँग छैन। र हामी त्यसतर्फ इमानदारी, व्यावहारिकता र नयाँ सम्भावनाको पुल निर्माण गर्ने दृढ संकल्पसहित अघि बढ्नेछौं।
(भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेले हिन्दुस्तान टाइम्समा लेख्नुभएको लेखको भावानुवाद)




प्रतिक्रिया राख्नुहोस्