हालसम्म लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतमा निर्भर रहँदै आएको हिमाली जिल्ला मनाङ पहिलोपटक राष्ट्रिय प्रसारण प्रणालीसँग जोडिएर ऊर्जा विकासको इतिहासमा नयाँ अध्याय लेख्ने भएको छ।
१३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्ने भएको छ, जसले स्थानीय जनजीवनदेखि राष्ट्रिय ऊर्जा सुरक्षासम्म दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।
मस्र्याङ्दी नदीको अथाह जलस्रोतलाई उपयोग गर्दै निर्माणाधीन यस आयोजनाले नेपालको ऊर्जा उत्पादन क्षमता विस्तार गर्नुका साथै आर्थिक विकास र ऊर्जा आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।
निजी क्षेत्रबाट निर्माण भइरहेका ठूला जलविद्युत् आयोजनामध्ये एक मानिएको यो आयोजना मनाङको नासोँ गाउँपालिका–८ र ९ नम्बर वडामा निर्माण भइरहेको छ।
बुटवल पावर कम्पनीका निर्देशक प्रतीकमान प्रधानका अनुसार आयोजना ‘रन अफ रिभर’ प्रणालीमा आधारित छ। यस प्रणाली अन्तर्गत नदीको पानी बाँधमार्फत सङ्कलन गरी सुरुङमार्फत विद्युत्गृहसम्म पु¥याइन्छ र त्यसबाट विद्युत् उत्पादन गरिन्छ। नेपालमा जलाशययुक्त आयोजनाको तुलनामा यस्ता आयोजना निर्माण लागत कम, वातावरणीय प्रभाव तुलनात्मक रूपमा न्यून तथा निर्माण अवधि छोटो हुने भएकाले प्राथमिकतामा पर्ने गरेका छन्।
आयोजनाको ग्रस हेड ४३०.२० मिटर तथा हेडरेस सुरुङको लम्बाइ ६.०७५ किलोमिटर रहेको छ। कुल ३३ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ। बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड रुपैयाँ स्वपुँजी लगानी गर्नेछ।
आयोजनामा नेपाली साझेदार बुटवल पावर कम्पनीको २० प्रतिशत र चिनियाँ कम्पनीहरू एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल तथा क्युवाइसी इन्टरनेसनलको संयुक्त ८० प्रतिशत शेयर स्वामित्व रहेको छ। आयोजना विकास तथा निर्माणका लागि नेपाल सरकार र लगानीकर्ता कम्पनीहरूबीच २०७९ पुस ३ गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। उत्पादन हुने विद्युत्ले राष्ट्रिय प्रसारण प्रणालीलाई थप मजबुत बनाउनुका साथै ऊर्जा निर्यातको सम्भावना विस्तार गर्नसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।
मस्र्याङ्दी नदीमा यसअघि नै ६९ मेगावाटको मस्र्याङ्दी, ७० मेगावाटको मध्य मस्र्याङ्दी तथा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायतका आयोजना सञ्चालनमा आइसकेका छन्। ती आयोजनाले नदीको ऊर्जा सम्भावना प्रमाणित गरिसकेको अवस्थामा मनाङ मस्र्याङ्दी आयोजना त्यसै सम्भावनाको थप विस्तारका रूपमा हेरिएको छ।
निर्माण कार्यसँगै पहुँचमार्ग विस्तार, बाँध निर्माण, सुरुङ खन्ने, विद्युत्गृह निर्माण तथा प्रसारण लाइन विस्तारका काम एकसाथ अघि बढिरहेका छन्। तर हिमाली भूगोलमा आयोजना निर्माण गर्नु सहज छैन। साँघुरा सडक, पहिरोको जोखिम, हिमपात, कठोर मौसम र दुर्गम भौगोलिक अवस्थाले निर्माण कार्यमा चुनौती थपेका छन्।
निर्देशक प्रधानका अनुसार विशाल आकारका टर्बाइन, जेनेरेटर तथा अन्य उपकरण आयोजनास्थलसम्म पु¥याउन कतिपय सडक खण्डको स्तरोन्नति नै गर्नुपरेको थियो। सुरुङ निर्माणका क्रममा कमजोर चट्टान, पानी चुहिने समस्या तथा पहिरोका कारण थप प्राविधिक चुनौती सामना गर्नुपरे पनि विशेषज्ञ टोलीले ती समस्याको समाधान गर्दै निर्माण कार्यलाई निरन्तरता दिएको छ।
जलविद्युत् आयोजना निर्माणले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ। निर्माण अवधिमा सयौँ स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् भने यातायात, होटल, रेष्टुराँ तथा अन्य सेवा व्यवसायमा आर्थिक गतिविधि उल्लेख्य रूपमा बढेको छ। पर्यटकीय जिल्ला मनाङमा वस्तु तथा सेवाको माग बढेसँगै स्थानीय व्यवसायी लाभान्वित भएका छन्।
नासोँ गाउँपालिका–८ का वडाध्यक्ष याद घलेका अनुसार सडक पहुँच विस्तार भएपछि स्थानीय कृषिजन्य तथा अन्य उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ। यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने आधार तयार गरेको छ।
स्थानीयवासीले भने आयोजनाबाट विद्युत् उत्पादनसँगै शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकासमा थप लगानी, स्थानीय युवालाई रोजगारीमा प्राथमिकता तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोगको अपेक्षा गरेका छन्।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार जलविद्युत् आयोजनाबाट प्राप्त हुने रोयल्टी स्थानीय तहको दीर्घकालीन विकासको महत्वपूर्ण स्रोत बन्न सक्छ। रोयल्टी रकमलाई शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन विकासमा प्रभावकारी रूपमा परिचालन गर्न सके आयोजनाको लाभ अझ व्यापक हुने उहाँको भनाइ छ।
यद्यपि जलविद्युत् आयोजना विकाससँगै वातावरणीय चुनौती पनि जोडिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार जलविद्युत् आयोजना स्वच्छ ऊर्जाको स्रोत भए पनि यसको वातावरणीय प्रभाव पूर्ण रूपमा शून्य हुँदैन। नदीको प्राकृतिक बहावमा परिवर्तन आउँदा जलीय जैविक विविधता प्रभावित हुन सक्छ।
मस्र्याङ्दी नदीको केही भागमा पानी मोडिँदा प्राकृतिक बहाव घट्न सक्ने भएकाले वन क्षेत्र, जैविक विविधता तथा स्थानीय पारिस्थितिक प्रणालीमा पर्ने प्रभाव न्यूनीकरण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अनुसार विभिन्न संरक्षणात्मक उपाय अपनाइएको उहाँले बताउनुभयो।
ऊर्जा उत्पादन, पूर्वाधार विकास, स्थानीय रोजगारी र आर्थिक गतिविधिको विस्तारका दृष्टिले मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना केवल एक विद्युत् परियोजना मात्र नभई मनाङको समग्र विकास यात्राको महत्वपूर्ण आधार बन्ने देखिएको छ।
आयोजना सम्पन्न भएपछि मनाङ पहिलोपटक राष्ट्रिय प्रसारण लाइनमा जोडिने मात्र होइन, नेपालको ऊर्जा समृद्धितर्फको यात्रामा पनि एउटा महत्वपूर्ण कोसेढुङ्गा थपिनेछ।




प्रतिक्रिया राख्नुहोस्