जापान

जापानले १४ पुराना आणविक रिएक्टर प्रतिस्थापन गर्ने

जापानले सन् २०५० को दशकसम्म करिब १४ वटा पुराना आणविक रिएक्टरलाई नयाँ रिएक्टरले प्रतिस्थापन गर्ने योजना बनाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका अनुसार, सन् २०११ को फुकुशिमा आणविक दुर्घटनापछि आणविक ऊर्जाप्रति सावधानी अपनाउँदै आएको जापान अहिले पुनः यसतर्फ सक्रिय रूपमा फर्किएको देखिएको छ।

उद्योग मन्त्रालयको प्रस्तावित योजनाअनुसार, जापानले सन् २०४० को दशकसम्म करिब ५ वटा रिएक्टर प्रतिस्थापन गर्ने र सन् २०५० को दशकसम्म कुल करिब १४ वटा रिएक्टर नयाँ प्रविधिका साथ पुनर्निर्माण गर्ने लक्ष्य लिएको छ। यो योजना प्रमुख सञ्चारमाध्यम क्योदो न्युज र राष्ट्रिय प्रसारक एनएचकेले उल्लेख गरेका छन्।

यस योजनालाई उद्योग मन्त्रालयको एक प्यानल बैठकमा शुक्रबार प्रस्तुत गरिएको र सम्बन्धित मन्त्रीहरूले यस गर्मीमा यसको मस्यौदा समीक्षा गर्ने बताइएको छ।

क्योदो न्युजका अनुसार जापानको ऊर्जा क्षेत्रले सन् २०४० सम्म करिब ५.५ मिलियन किलोवाट विद्युत् आपूर्तिको कमी हुन सक्ने अनुमान गरेको छ, जुन करिब पाँच वटा आणविक रिएक्टरले उत्पादन गर्ने क्षमतासरह हो।

सन् २०११ मा ठूलो भूकम्प र सुनामीका कारण फुकुशिमा आणविक प्लान्टका तीन रिएक्टर पग्लिएपछि जापानले सबै आणविक ऊर्जा उत्पादन अस्थायी रूपमा बन्द गरेको थियो।

तर अहिले जापानले जीवाश्म इन्धनमा निर्भरता घटाउन, सन् २०५० सम्म कार्बन न्यूट्रालिटी हासिल गर्न तथा कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सेन्टर र सेमिकन्डक्टर उद्योगबाट बढ्दो ऊर्जा माग पूरा गर्न आणविक ऊर्जालाई पुनः विस्तार गर्ने योजना अघि सारेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.