खेलफूटबल

विश्वकप फुटबलमा अनलाइन सट्टेबाजी र ठगीको जोखिम बढ्यो, प्रहरीको कडा चेतावनी

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आउँदो जेठ २८ गते बिहिबार (जुन ११) देखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुँदैछ ।

प्रतियोगिताको उल्टो गन्ती सुरु भएसँगै नेपालसहित विश्वभर अनलाइन सट्टेबाजी र ठगीका घटनाहरू बढ्ने जोखिम देखिएको छ ।

सूचना प्रविधिको तीव्र विकाससँगै पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताहरूलाई लक्षित गर्दै अनलाइन बेटिङ र सट्टेबाजीको नाममा ठगी गर्ने प्रवृत्ति तीव्र बनेको नेपाल प्रहरीले जनाएको छ ।

विशेष गरी सामाजिक सञ्जाल र मोबाइल एपमार्फत “थोरै पैसा लगानी गरी धेरै कमाइ” वा “घरमै बसेर पैसा कमाउने” जस्ता आकर्षक विज्ञापनहरू प्रयोग गरी सर्वसाधारणलाई फसाउने गरिएको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै सर्वसाधारणलाई यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार त्यस्ता अनलाइन सट्टेबाजी प्लेटफर्महरू प्रायः संगठित ठगी गिरोहद्वारा सञ्चालन गरिन्छन्, जसले सुरुमा प्रयोगकर्तालाई सानो नाफा देखाएर विश्वास जित्ने र पछि ठूलो रकम लगानी गर्न बाध्य पारेर ठगी गर्ने गर्छन् ।

प्रहरीले स्पष्ट रूपमा अनलाइन सट्टेबाजीमा संलग्न हुनु वा सञ्चालन गर्नु दण्डनीय अपराध भएको चेतावनी दिएको छ । साथै, यस्ता गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

त्यसैगरी, सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापन र मोबाइल स्क्रिनमा आउने अनचाहिँदा अफरहरूमा विश्वास नगर्न पनि प्रहरीले सचेत गराएको छ ।

विश्वकप जस्ता ठूला खेलकुद प्रतियोगिताको समयमा यस्ता ठगी गतिविधि अझ सक्रिय हुने भएकाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.