नारायणहिटी राजदरबार हत्याकाण्ड पुनः छानबिन गर्ने गृहमन्त्री गुरुङको घोषणा
पुनः नियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गर्नुभएको छ। मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले उक्त घटनाबारे पुनः अनुसन्धान अघि बढाइने जानकारी दिनुभयो।
पदभार ग्रहणसँगै मन्त्री गुरुङले एकएक फाइल खोल्ने बताउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई थप सुदृढ, सक्षम र स्रोत–साधनसम्पन्न बनाउने निर्णय गर्नुभएको छ।
साथै, हाल अनुसन्धानका क्रममा रहेका महत्त्वपूर्ण मुद्दाहरूलाई छिटो निष्कर्षमा पुर्याउने प्रक्रियालाई तीव्रता दिने निर्णयमा पनि उहाँले हस्ताक्षर गर्नुभएको छ।
गृहमन्त्री गुरुङले पछिल्लो समय ‘जेनजी’ आन्दोलनका क्रममा दर्ता भएका फौजदारी मुद्दाहरूको अवस्थाबारे अध्ययन गरी आवश्यक निर्णय लिने प्रक्रिया अगाडि बढाइने बताउनुभयो।
आफूमाथि लागेका विभिन्न आरोपका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उहाँले ती आरोपहरू तथ्यहीन रहेको दाबी गर्नुभयो।
“ममाथि जस्तोसुकै आरोप लगाए पनि म त्यसको सामना गर्न सक्छु,” उहाँले भन्नुभयो, “तर नेपाली चेलीबेटीमाथि अन्याय भएको वा उनीहरूलाई दुःख दिइएको अवस्था भने म कुनै हालतमा सहन सक्दिनँ।”
उहाँले सञ्चारमाध्यमको भूमिकाप्रति पनि ध्यानाकर्षण गराउँदै ‘मिडिया ट्रायल’ का कारण कुनै व्यक्ति अनावश्यक दबाबमा परी आत्महत्यासम्म गर्न बाध्य हुने अवस्था सिर्जना नहोस् भन्नेमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
गृह प्रशासनलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री गुरुङले कानूनको शासन, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।




प्रतिक्रिया राख्नुहोस्