खेलफूटबल

विश्वकप फुटबलको क्रेजसँगै साइबर ठगीको जाल, अनधिकृत एप र वेबसाइट बन्द गरिंदै

फिफा विश्वकप फुटबल- २०२६ सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा नेपालमा ‘निःशुल्क प्रत्यक्ष प्रसारण’ को नाममा हुने साइबर ठगीप्रति सरकारी निकायले विशेष सतर्कता अपनाएका छन्।

विश्वभर फुटबल समर्थकहरू विश्वकपको उत्साहमा डुबिरहेका बेला नेपालमा पनि निःशुल्क खेल हेर्न सकिने भन्दै सामाजिक सञ्जाल, वेबसाइट र विभिन्न अनलाइन माध्यमबाट फैलाइएका लिंकमार्फत ठगी गर्ने गतिविधि तीव्र बन्दै गएको पाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार विश्वकप फुटबल निःशुल्क हेर्न मिल्ने भन्दै पठाइएका शंकास्पद लिंक, वेबसाइट र मोबाइल एपमार्फत प्रयोगकर्ताको व्यक्तिगत विवरण तथा बैंकिङ जानकारी चोरी गर्ने क्रम बढेको छ। यसबाट सर्वसाधारण आर्थिक तथा डिजिटल सुरक्षाको जोखिममा परेका छन्।

साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलिप गिरीका अनुसार विश्वकप निःशुल्क हेर्न सकिने भन्दै प्रचार गरिएका लिंकमा क्लिक गरेपछि ठगिएको भन्दै हालसम्म ७७ वटा उजुरी दर्ता भएका छन्। ती उजुरीका आधारमा करिब १ करोड ६८ लाख ३८ हजार ६ सय ८८ रुपैयाँ बराबरको आर्थिक ठगी भएको विवरण प्राप्त भएको उहाँले बताउनुभयो।

उहाँका अनुसार ठगी गर्ने समूहले फेसबुक, ह्वाट्सएप, टेलिग्राम, इमेल तथा विभिन्न वेबसाइटमार्फत ‘फ्री लाइभ स्ट्रिमिङ’, ‘एचडी क्वालिटीमा विश्वकप हेर्नुहोस्’ वा ‘निःशुल्क विश्वकप प्रसारण’ जस्ता आकर्षक सन्देश पठाएर प्रयोगकर्तालाई लिंकमा क्लिक गर्न प्रलोभन दिने गरेका छन्।

त्यस्ता लिंकमा प्रवेश गरेपछि प्रयोगकर्ताको मोबाइल वा कम्प्युटरमा मालवेयर प्रवेश गराउने, व्यक्तिगत विवरण संकलन गर्ने तथा बैंकिङ प्रणालीमा पहुँच पुर्‍याउने प्रयास हुने गरेको साइबर ब्यूरोको भनाइ छ।

‘विश्वकप निःशुल्क हेर्ने नाममा मानिसहरू लाखौँ रुपैयाँ गुमाइसकेका छन्। अपरिचित व्यक्ति वा अविश्वसनीय स्रोतबाट आएका लिंकमा क्लिक नगर्न हामीले आग्रह गरेका छौँ,’ एसपी गिरीले बताउनुभयो।

अनधिकृत प्रसारण गर्ने वेबसाइट र एपमाथि कडाइ

यसैबीच सरकारले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रत्यक्ष प्रसारण गर्न सक्ने सम्भावित वेबसाइट र मोबाइल एपमाथि कडा निगरानी थालेको छ। प्रतिलिपि अधिकार (कपिराइट) उल्लंघन गर्दै खेल प्रसारण गर्ने प्लेटफर्महरूलाई बन्द गराउने प्रक्रिया समेत अघि बढाइएको छ।

नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण अधिकार प्राप्त गरेको ‘एस प्रो मिडिया प्रालि’को अनुरोधपछि नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक कदम चाल्न थालेको हो।

कम्पनीका अध्यक्ष सोम धितालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गर्दै अनधिकृत प्रसारण रोक्न तथा त्यस्ता वेबसाइट र एपहरू बन्द गराउन माग गर्नुभएको थियो ।

सोही अनुरोधका आधारमा मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक कारबाहीका लागि निर्देशन दिएको जनाएको छ। प्राधिकरणका एक अधिकारीका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) तथा मोबाइल सेवा प्रदायकहरूसँग समन्वय गरी प्रतिलिपि अधिकार उल्लंघन गर्ने तीन दर्जनभन्दा बढी वेबसाइट तथा एपमाथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरिएको छ।

अधिकारीहरूका अनुसार विश्वकप अवधिभर यस्ता अवैध प्लेटफर्मको निरन्तर निगरानी गरिनेछ। नयाँ वेबसाइट वा एपमार्फत अनधिकृत प्रसारण गर्ने प्रयास भएमा तत्काल ब्लक गर्ने तयारी पनि गरिएको छ।

दर्शकलाई सावधानी अपनाउन आग्रह

साइबर सुरक्षा विज्ञहरूले विश्वकप हेर्ने नाममा आउने कुनै पनि लिंक वा एप डाउनलोड गर्नुअघि त्यसको आधिकारिकता सुनिश्चित गर्न आग्रह गरेका छन्। आधिकारिक प्रसारणकर्ताको वेबसाइट, एप वा टेलिभिजन प्लेटफर्ममार्फत मात्र खेल हेर्नुपर्ने सुझाव छ।

विश्वकपको उत्साहलाई आधार बनाएर सक्रिय भएका साइबर अपराधीहरूले दर्शकको रुचि र भावनालाई प्रयोग गरी ठगी गर्ने प्रयास गरिरहेका बेला सम्बन्धित निकायले सतर्कता अपनाउन तथा शंकास्पद लिंक, वेबसाइट वा एप देखिए तत्काल साइबर ब्यूरोमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.