खेलफूटबल

फुटबलको महासङ्ग्राम फिफा विश्वकप २०२६ आज मध्यरातिबाट सुरु हुँदै

फुटबलको महासङ्ग्राम फिफा विश्वकप २०२६ नेपालको समयअनुसार बिहीबार मध्यराति १२ बजेर ४५ मिनेटदेखि शुभारम्भ हुँदै छ । उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै छन् ।

यसपालि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकपको आयोजना गर्दैछन् । विगतका विश्वकपहरूमा ३२ टोलीको मात्र सहभागिता हुने गर्दथ्यो भने अब ४८ मुलुकका टोलीले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने मौका पाएपछि थप थुप्रै टिम तथा खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पाएका छन् ।

यसअघिका विश्वकपमा ६४ वटा खेल हुने गरेकामा अब खेल सङ्ख्या बढेर १०४ खेल हुनेछन् । प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन् । जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कूल ८ खेल खेल्नेछ ।

आज मध्यराति १२ बजेर ४५ मिनेटदेखि शुभारम्भ हुने विश्वकप साउन ४ गते मध्यराति समापन हुनेछ । यसअघि समूहगत खेलका लागि सहभागी टिमहरूलाई आठ समूहमा विभाजन गर्ने गरिएको थियो भने यसपटक समूहको सङ्ख्या बढ्न गई ‘ए’ देखि ‘एल’ समूह गरी १२ वटा समूहमा विभाजन गरिएको छ ।

यसअनुसार प्रत्येक समूहमा चारवटा टोली रहेका छन् । फिफाले विश्वकपका विजेता टोलीले ट्रफीसहित पाँच करोड डलर र उपविजेताले तीन करोड तीन लाख डलर पाउनेछ । त्यस्तै तेस्रो हुनेले दुई करोड ९० लाख डलर र चौथो हुने टिमले दुई करोड ७० लाख डलर पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.