प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
कर्णाली प्रदेशको प्रारम्भिक विपद्म/मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अनुमोदन गरिएको छ ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिबद्ध चरण–३ र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा कार्यशाला गोष्ठीमार्फत उक्त योजना अनुमोदन गरिएको हो ।
विपद् पूर्वतयाारी तथा प्रतिकार्य योजना–२०८३ लाई अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेशस्तरका सरोकारवालाहरूसँगको समीक्षा, परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो ।
“गोष्ठीमा प्रदेश सरकारद्वारा तयार पारिएक विपद्सम्बन्धी नीति, योजना, मापदण्ड तथा मार्गदर्शनको प्रस्तुति पनि गरियो”, प्रमुख गौतमले भन्नुभयो, “सरोकारवालाहरूसँग विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को मस्यौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव सङ्कलन गर्ने काम भयो ।” त्यस्तै, विपद् पूर्वतयारी तथा प्रतिकार्यका सम्बन्धमा उत्कृष्ट अभ्यास र अनुभवहरूको पनि प्रस्तुति गरिएको उहाँले बताउनुभयो ।
पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजना (पिन)का कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ लाई अन्तिम रूप दिन गरिएको कार्यशाला गोष्ठीबाट योजना अनुमोदनमा सहयोग पुगेको बताउनुभयो ।
उहाँले विषयगत क्षेत्रअनुसार समूह कार्य, त्यसबाट प्राप्त प्रमुख सिफारिस, सहमति र आगामी मार्गचित्रका बारेमा सहजीकरण गर्नुभएको थियो ।
गोष्ठीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ को भूमिकाबारेमा प्रस्तुति राख्नुभएको थियो ।
सेभ द चिल्ड्रेनका सुर्खेत फिल्ड प्रमुख रत्नराज ओझाले अनुमोदित प्रतिकार्य योजनाले सरोकारवाला सबैलाई जिम्मेवार बनाएको भन्दै यसले यहाँको जोखिम न्यूनीकरण तथा नागरिक सुरक्षामा सहयोग पुग्ने बताउनुभयो ।
उक्त गोष्ठीमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, आपत्कालीन कार्य सञ्चालन केन्द्र, सूचना, प्रविधि तथा सञ्चार क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।




प्रतिक्रिया राख्नुहोस्