राजनीति

तीनधारा पाठशाला र नेपालको पहिलो विद्यार्थी आन्दोलन : ‘जयतु संस्कृतम्‌’

नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने जयतु संस्कृतम् आन्दोलनको स्मरणमा आज असार १ गते देशभर विभिन्न कार्यक्रमका साथ ८०औँ जयतु संस्कृतम् दिवस मनाइँदैछ।

एआई सिर्जित सांकेतिक तस्वीर

विसं २००४ असार १ गते तत्कालीन तीनधारा पाठशालाका विद्यार्थीहरूले सुरु गरेको यो आन्दोलनले केवल शैक्षिक सुधारको माग मात्र उठाएन, पछि नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समेत नयाँ दिशा दिएको थियो।

तत्कालीन राणा शासनकालमा संस्कृत शिक्षा मुख्यतः धार्मिक र शास्त्रीय विषयमा सीमित थियो। आधुनिक विश्वमा भइरहेका परिवर्तनसँगै विद्यार्थीहरूले संस्कृतका शास्त्रीय विषयसँगै अङ्ग्रेजी, गणित, विज्ञान, भूगोलजस्ता आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग अघि सारे। यही माग लिएर तीनधारा पाठशालाका विद्यार्थीहरूले आन्दोलन सुरु गरेका थिए।

तर, शैक्षिक सुधारको मागबाट सुरु भएको आन्दोलन क्रमशः निरङ्कुश राणा शासनविरुद्धको राजनीतिक आन्दोलनमा रूपान्तरित भयो। आन्दोलन दबाउन राणा शासकहरूले आन्दोलनकारी विद्यार्थीलाई पाठशालाबाट निष्कासन गरी उपत्यकाबाहिर पठाए। यस घटनाले आन्दोलनलाई झन् व्यापक बनायो र विद्यार्थीहरूले देशका विभिन्न भागमा पुगेर जनचेतना फैलाउन थाले।

निर्वासित विद्यार्थीहरू पछि भारतको वनारस पुगे, जहाँ उनीहरूले नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूसँग सम्पर्क स्थापित गरे। नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालालगायत प्रजातन्त्र पक्षधर नेताहरूसँगको सहकार्यले विद्यार्थी आन्दोलनलाई राजनीतिक रूपान्तरणतर्फ डोर्‍यायो।

यसले राणा शासनविरुद्ध जनमत निर्माण गर्न र देशभर लोकतान्त्रिक चेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको इतिहासकारहरू बताउँछन्।

जयतु संस्कृतम् आन्दोलन नेपालको विद्यार्थी राजनीतिका साथै लोकतान्त्रिक आन्दोलनको आधारशिला मानिन्छ। यही आन्दोलनबाट शिक्षामा सुधार, नागरिक अधिकार र राजनीतिक स्वतन्त्रताको चेतना सशक्त रूपमा विकसित भएको थियो।

आन्दोलनको स्वर्ण जयन्तीको अवसरमा विसं २०५५ मा जयतु संस्कृतम् संस्था स्थापना गरी यसलाई संस्थागत रूप दिइएको थियो। त्यसयता प्रत्येक वर्ष असार १ गते जयतु संस्कृतम् दिवस औपचारिक रूपमा मनाइँदै आएको छ।

यस वर्षको ८०औँ दिवसका अवसरमा दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, विश्वशान्तिको कामनासहित स्वस्तिवाचन तथा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

प्रभातफेरीपछि रानीपोखरीस्थित दरबार हाईस्कुलमा औपचारिक कार्यक्रम सम्पन्न हुने जनाइएको छ। नेपालको लोकतान्त्रिक इतिहासमा जयतु संस्कृतम् आन्दोलनले विद्यार्थी शक्ति परिवर्तनको वाहक बन्न सक्छ भन्ने सन्देश दिएको थियो।

शैक्षिक अधिकारबाट सुरु भएको यो आन्दोलन अन्ततः प्रजातन्त्र स्थापनाको संघर्षसँग जोडिँदै नेपालको राजनीतिक इतिहासमा अमिट अध्याय बनेको छ। यही आन्दोलनको जगमा राणाशासन बिरुद्धको आन्दोलनको बलियो जग तयार भएको मानिन्छ ।

आन्दोलनका अगुवा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतका विद्यार्थीहरूले भारतमा रहेका बीपी कोइरालासँग सम्पर्क गरी राणा विरोधी आन्दोलनमा सक्रिय भूमिका खेले। इतिहासकारहरूले जयतु संस्कृतम् आन्दोलनलाई विसं २००७ सालको प्रजातान्त्रिक परिवर्तनको पूर्वपीठिका मान्ने गरेका छन्।

मुलुकमा संस्कृत शिक्षाको प्रवर्द्धन गर्ने र विद्यार्थीहरूलाई निःशुल्क खान, बस्न दिने उद्देश्यले विसं १९४३ वैशाख ४ गते राणा प्रधानमन्त्री वीरशमशेरको पालामा तीनधारा पाठशाला भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.