खेलफूटबल

२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले गर्यो इराकको पोष्टमा चार गोल

२८ वर्षपछि फिफा विश्वकप फुटबलमा पुनरागमन गरेको नर्वेले सानदार सुरुआत गरेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को आफ्नो पहिलो खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।

अमेरिकाको बोस्टनमा बुधबार बिहान सम्पन्न खेलमा नर्वेको जितमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गर्दा लियो ओस्टिगार्डले एक गोल थपे। अर्को एक गोल भने इराकका खेलाडीको आत्मघाती गोलका रूपमा आयो। इराकका लागि आयमन हुसेनले सान्त्वना गोल गरे।

नर्वेले खेलको २९औँ मिनेटमा हालान्डको गोलमार्फत अग्रता लिएको थियो। तर त्यसको १० मिनेटपछि आयमन हुसेनले गोल गर्दै इराकलाई १–१ को बराबरीमा फर्काए।

पहिलो हाफ सकिनुअघि ४३औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा नर्वेले खेलमा आफ्नो पकड बलियो बनायो। ७६औँ मिनेटमा लियो ओस्टिगार्डले हेडमार्फत गोल गर्दै टोलीको अग्रता ३–१ मा पुर्‍याए।

इन्जुरी समयको छैटौँ मिनेटमा इराकका खेलाडीबाट आत्मघाती गोल भएपछि नर्वेले ४–१ को सहज जित निकालेको हो।

यो जितसँगै नर्वे तीन अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा उक्लिएको छ। समान तीन अंक भए पनि गोलअन्तरका आधारमा फ्रान्स दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा पराजित भएका सेनेगल र इराक भने अंकविहीन छन्।

नर्वेले यसअघि सन् १९९८ मा विश्वकप खेलेको थियो। उक्त संस्करणमा अन्तिम १६ सम्म पुगेको नर्वे त्यसयता विश्वकपमा छनोट हुन सकेको थिएन। २८ वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किएको नर्वेले विजयी सुरुआत गर्दै आफ्नो उपस्थितिलाई प्रभावशाली बनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.