विश्व समाचार

अमेरिका–इरान शान्ति सम्झौतापछि तेल बजारमा राहत

संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि तीन महिनादेखि मध्यपूर्वमा जारी तनाव अन्त्य भएसंगै विश्व ऊर्जा बजारमा सकारात्मक संकेत देखिएको छ।

रणनीतिक महत्व बोकेको स्ट्रेट अफ हर्मुज पुनः पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ।

मङ्गलबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य करिब चार प्रतिशतले घटेर प्रतिव्यारेल ७९.८७ अमेरिकी डलरमा पुगेको छ। यो तीन महिनायता पहिलो पटक ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल झरेको हो।

यस्तै, अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य पनि ४.५ प्रतिशतले घटेर प्रतिव्यारेल ७७.१६ डलरमा कायम भएको छ। विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव कम हुने संकेतले विश्व बजारमा ऊर्जा आपूर्तिको जोखिम घटाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा शुक्रबार अमेरिका र इरानबीच सम्पन्न शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला हुने विश्वास व्यक्त गर्नुभएको छ।

विश्व समुद्री तेल व्यापारको महत्वपूर्ण मार्ग मानिने उक्त जलमार्गबाट दैनिक विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने भएकाले यसको सञ्चालनले विश्व बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।

फेब्रुअरीको अन्त्यतिर सुरु भएको अमेरिकी तथा इजरायली सैन्य कारबाहीको प्रतिक्रियास्वरूप इरानले स्ट्रेट अफ हर्मुज हुँदै हुने ट्याङ्कर आवतजावतमा प्रभावकारी अवरोध सिर्जना गरेको थियो। त्यसपछि विश्व बजारमा तेल तथा ग्यास आपूर्तिको चिन्ता बढ्दै कच्चा तेलको मूल्य उकालो लागेको थियो।

ब्रोकर कम्पनी ट्रेड नेसनका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिसनका अनुसार स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउनु शान्ति सम्झौताबाट प्राप्त हुने सबैभन्दा महत्वपूर्ण र तत्काल सकारात्मक परिणाममध्ये एक हो।

उहाँका अनुसार इरानले उक्त मार्ग प्रयोग गर्ने जहाजमा कर लगाउने चेतावनी दिए पनि बजार सहभागीहरूले आपूर्ति अवस्था क्रमशः सहज बन्दै गएको संकेत देखिरहेका छन्।

स्ट्रेट अफ हर्मुज विश्व ऊर्जा सुरक्षाको प्रमुख नाकामध्ये एक मानिन्छ। खाडी क्षेत्रका प्रमुख तेल उत्पादक राष्ट्रहरू—साउदी अरेबिया, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत र इरान—को तेल निर्यात मुख्यतः यही मार्ग हुँदै हुने भएकाले यहाँ उत्पन्न हुने कुनै पनि तनावले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा प्रत्यक्ष असर पार्ने गर्दछ।

विश्लेषकहरूका अनुसार शान्ति सम्झौताको प्रभाव दीर्घकालीन रूपमा कायम रह्यो भने विश्व बजारमा तेलको मूल्य थप स्थिर हुन सक्नेछ।

यसको सकारात्मक प्रभाव ऊर्जा आयातमा निर्भर मुलुकहरू, विशेष गरी नेपालजस्ता देशमा इन्धन मूल्य र मुद्रास्फीतिमा समेत देखिन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.