रास्वपा महामन्त्री दौडमा मनिष झा, उम्मेदवारी घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद मनिष झाले जारी महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। सोही पदका लागि विपिन आचार्यले पनि दाबी प्रस्तुत गर्नुभएको छ।
सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले राजनीतिमा लागिसकेपछि थप चुनौती लिन सधैं तयार रहनुपर्ने स्पष्ट गर्दै महामन्त्री पदमा प्रतिस्पर्धाका लागि प्रारम्भमा केही द्विविधा रहे पनि अहिले आफू मानसिक रूपमा पूर्ण रूपमा तयार भइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मिडियामा जसरी चर्चा भएको छ, त्यो स्वीकारोक्तिकै रूपमा आएको हो। जुन दाबी र अपेक्षा मप्रति गरिएको छ, त्यसलाई स्वाभाविक रूपमा लिन सकिन्छ। यो देशको प्रधानमन्त्री वा पार्टीको सभापति नै बन्नुपर्छ भन्ने मेरो कहिल्यै अपेक्षा छैन। तर अहिलेसम्म जुन तहको नेतृत्व गर्दै आएको छु, त्यसभन्दा अगाडि बढ्ने आकांक्षा भने स्वाभाविक हो।”
झाले पार्टीको आगामी दुई निर्वाचनको तयारी तथा देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो। “मेरो क्षमता, पृष्ठभूमि र साथीहरूको सुझावका आधारमा मैले आफूलाई यस पदका लागि योग्य उम्मेदवार ठानेको छु,” उहाँले भन्नुभयो।
महामन्त्री पदलाई ठूलो जिम्मेवारी र जोखिमयुक्त भूमिका भएको उल्लेख गर्दै उहाँले उक्त पदको दायित्व न्यायपूर्ण रूपमा निर्वाह गर्न सक्ने आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रने निर्णय गरेको स्पष्ट पार्नुभयो।




प्रतिक्रिया राख्नुहोस्