कृषि

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् ।

राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गर्नुभएको छ । उहाँले चार कट्ठा खेतमा धान रोप्नुभएको छ भने बाँकी नौ कट्ठा खेतमा आज रोपाइँ सक्ने तयारी रहेको बताउनुभयो ।

जलजला महिला समूहका १३ रुपार्नेको सहयोगमा खेत रोप्नुभएकी चौधरीले प्रतिव्यक्ति प्रतिघण्टा रु १२० का दरले ज्याला दिएर रोपाइँ गराउनुभएको हो । उहाँले भन्नुभयो, “सिक्टाले नहरमा पानी छोडेपछि आकाशबाट पानी नपरे पनि ढुक्क भएर रोपाइँ गर्न पाएका छौँ । नहरको पानीले खेत रोप्न धेरै सजिलो भएको छ ।”

मेलिनाको खेतमा रोपाइँ गर्न आउनुभएकी सोही गाउँकी मनसरा डाँगीले पनि सिक्टाको पानीका कारण खेतीपाती गर्न सहज बनेको बताउनुभयो । उहाँले आज आफ्नो १४ कट्ठा खेतमा धान रोप्ने तयारी रहेको जानकारी दिँदै भन्नुभयो, “पहिले पानीको चिन्ताले रोपाइँ कहिले गर्ने भन्ने अन्योल हुन्थ्यो । अहिले नहरमा पानी आएपछि समयमा खेती गर्न सकिने भएको छ । आज आफ्नै खेतमा पनि रोपाइँ सुरु गर्छु ।”

सिक्टा सिँचाइ आयोजनाले आइतबारदेखि राप्तीसोनारी गाउँपालिका–३ नवलपुर क्षेत्रमा पानी प्रवाह गरेपछि स्थानीय किसान रोपाइँमा जुटेका छन् । नवलपुरमा यस वर्षको पहिलो रोपाइँ स्थानीय किसान चन्द्रबहादुर थापाले गर्नुभएको थियो । उहाँले असारको पहिलो सातामै पाँच कट्ठा १४ धुर खेतमा धान रोपाइँ सम्पन्न गरिसकेको बताउनुभयो ।

थापाले भन्नुभयो, “सिक्टाको पानी उपलब्ध भएपछि खेत बाँझै रहने चिन्ता हटेको छ । अघिल्ला वर्षभन्दा अगाडि नै रोपाइँ गर्न पाएका छौँ । समयमै खेती गर्न सकिने भएकाले यस वर्ष उत्पादन पनि राम्रो हुने अपेक्षा गरेका छौँ ।”

किसानका अनुसार सिक्टा सिँचाइ आयोजनाको पानीले वर्षामाथिको निर्भरता घटाउँदै खेतीपातीलाई सहज बनाएको छ । नहर प्रणालीबाट नियमित पानी उपलब्ध हुन थालेपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँले गति लिएको छ ।

सिक्टा सिँचाइ आयोजनाले हालसम्म बाँके जिल्लाका करिब २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराएको जनाएको छ । आयोजनाअन्तर्गत निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि सिँचाइ क्षेत्र विस्तार भई ३० हजारदेखि ३२ हजार हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ ।

सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँध (हेडबक्र्स) बाट पूर्वी तथा पश्चिम मूल नहरमार्फत पानी सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ३१७ मिटर लम्बाइको बाँधबाट पूर्वी र पश्चिम मूल नहरमा पानी वितरण गरिँदै आएको छ ।

पूर्वीतर्फ फत्तेपुरका विभिन्न शाखा तथा राजकुलोमा पानी प्रवाह भइरहेको छ भने पश्चिमतर्फ सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँलगायत शाखामा सिँचाइका लागि पानी उपलब्ध गराइएको छ ।

इन्जिनियर विष्टले भन्नुभयो, “सिक्टा सिँचाइ आयोजनाले पानी उपलब्ध गराउनुपर्ने करिब ४३ हजार हेक्टर क्षेत्रमध्ये हाल २२ हजार हेक्टरमा किसानलाई सिँचाइका लागि पानी दिइरहेका छौँ । डुडुवा शाखाले सिँचाइ गर्नुपर्ने १६ हजार हेक्टर क्षेत्रका लागि नहर निर्माणको काम भइरहेको छ ।”

उहाँका अनुसार डुडुवा नहर प्रणालीको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कार्यको पहिलो वर्ष पूरा भइसकेको र बाँकी दुई वर्षभित्र डुडुवा शाखा, खजुरा शाखा तथा मानपुर शाखासहितका संरचना निर्माण सम्पन्न गरिनेछ ।

इन्जिनियर विष्टले भन्नुभयो, “डुडुवा शाखा नहरको निर्माण सम्पन्न भएपछि १६ हजार हेक्टर क्षेत्रले सिँचाइ सुविधा पाउनेछ । यही गतिमा काम अघि बढे तीन वर्षभित्र बाँके जिल्लामा आयोजनाअन्तर्गत सिँचाइ गर्नुपर्ने ४३ हजार हेक्टर क्षेत्रफलमा पानी पु¥याउन सफल हुनेछौँ ।”

हाल आयोजनाले ४३ हजार ६७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिँदै उहाँले डुडुवा शाखा सम्पन्न भएपछि कूल सिञ्चित क्षेत्र ३० देखि ३२ हजार हेक्टर पुग्ने बताउनुभयो । इन्जिनियर विष्टका अनुसार प्रत्येक वर्ष असारको पहिलो वा दोस्रो सातादेखि किसानलाई ब्याड राख्न तथा रोपाइँका लागि आवश्यक पानी उपलब्ध गराइँदै आएको छ ।

उहाँले भन्नुभयो, “असारको अन्तिमसम्म सिक्टा सिँचाइ आयोजनाले पानी उपलब्ध गराउन सक्ने अधिकांश क्षेत्रमा किसानको रोपाइँ कार्य सम्पन्न हुने विश्वास लिएका छौँ ।”

यस वर्ष बाँकेमा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले शिक्षादहरबाट पानी सञ्चालन गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा धान रोपाइँ सुरु भएको छ ।

आयोजनाका अनुसार कोहलपुर नगरपालिका वडा नं ६, १० र १५, जानकी गाउँपालिका वडा नं ३, ४ र ५, वैजनाथ गाउँपालिका वडा नं ५ र ७, डुडुवा गाउँपालिका वडा नं २ र ५ तथा खजुरा गाउँपालिका वडा नं ४, ५, ६, ७ र ८ मा रोपाइँ सुरु भइसकेको छ ।

त्यसैगरी, राप्तीसोनारी गाउँपालिका वडा नं २, ३, ४, ५, ६ र ७ तथा नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा किसानले सिक्टा नहरको पानी प्रयोग गरी धान रोप्न थालेका छन् । सिद्धनिया, अक्कलघरवा, गोहवा, पिडारी, पर्सेनिपुर र गुरुवागाउँ शाखा नहरमार्फत पानी पुगेपछि ती क्षेत्रका किसान रोपाइँमा व्यस्त भएका छन् ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.