बिशेषराजनीति

पौडेल पक्राउप्रति एमालेको आक्रोश : सुशासनको नाममा राजनीतिक प्रतिशोधको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको घटनाको तीव्र विरोध गर्दै सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउनुभएको छ।

सोमबार साँझ जारी विज्ञप्तिमार्फत अध्यक्ष ओलीले पौडेललाई सुर्खेतबाट ‘अपहरण शैलीमा’ पक्राउ गरिएको भन्दै त्यसको घोर निन्दा र भर्त्सना गर्नुभएको हो।

एमालेले पछिल्लो समय सरकारद्वारा अघि बढाइएको सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई विपक्षी दलका नेतामाथि केन्द्रित गरिएको दाबी गर्दै आएको छ।

विशेष गरी, प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको एमालेले आफ्ना शीर्ष नेतामाथि भइरहेका अनुसन्धान र कारबाहीलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएको छ। यद्यपि सरकार पक्षले भने कानुनभन्दा माथि कोही नरहेको र सुशासनको अभियानलाई निष्पक्ष ढंगले अघि बढाइएको दाबी गर्दै आएको छ।

अध्यक्ष ओलीले विज्ञप्तिमा भन्नुभएको छ, ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ।’

उहाँले एमाले सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धनले विपक्षी दलप्रति अराजनीतिक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाउनुभएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो। यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा एमालेमाथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।’

एमालेले उपाध्यक्ष पौडेल मंगलबार काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेको अवस्थामा सामान्य कानुनी प्रक्रिया अपनाउन सकिने विकल्प हुँदाहुँदै पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। पार्टीले उहाँ कानुनको सम्मान गर्ने सार्वजनिक व्यक्तित्व भएकाले सोधपुछका लागि बोलाएर पनि अनुसन्धान अघि बढाउन सकिने दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ।’

एमालेले पौडेलको पक्राउलाई केवल ‘सस्तो राजनीतिक खपत’का लागि गरिएको कदमको संज्ञा दिएको छ। अध्यक्ष ओलीले सत्ताको उन्मादमा सरकारले अधिनायकवादी शैली अपनाएको आरोप लगाउँदै त्यसको डटेर सामना गर्ने चेतावनी दिनुभएको छ।

पछिल्लो समय एमालेभित्र नेतृत्व पुस्तान्तरण, भावी नेतृत्व र पार्टीको राजनीतिक दिशा सम्बन्धी बहस तीव्र बन्दै गइरहेका बेला उपाध्यक्ष पौडेलमाथिको अनुसन्धानलाई पनि पार्टीभित्र चासोका साथ हेरिएको छ।

पार्टी अध्यक्ष ओलीपछिको नेतृत्वका सम्भावित दाबेदारमध्ये पौडेललाई प्रभावशाली नेताका रूपमा हेरिन्छ। त्यसैले उहाँमाथिको अनुसन्धान र गिरफ्तारीले एमालेको आन्तरिक शक्ति सन्तुलन, भावी नेतृत्वको प्रतिस्पर्धा तथा पार्टीको राजनीतिक अस्तित्वसँग समेत जोडिएर बहस सुरु भएको छ।

एमालेले सरकार लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित हुँदै सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी नेतामाथि लक्षित कारबाही तत्काल बन्द गर्न माग गरेको छ।

अध्यक्ष ओलीले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘हामी सरकारलाई चेतावनी दिन चाहन्छौं– विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्। सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछु।’

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरामा परेका पौडेलमाथि भइरहेको कारबाहीले अब नेपालमा सुशासन अभियान निष्पक्ष रूपमा अघि बढिरहेको हो वा राजनीतिक प्रतिशोधको औजारका रूपमा प्रयोग भइरहेको हो भन्ने बहसलाई थप तीव्र बनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.