सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा महिलाको उल्लेख्य उपस्थिति देखिएको छ।
एआई सिर्जित नमूना तस्वीर
बिहीबार सम्पन्न निर्वाचनबाट चयन भएका ९९ केन्द्रीय सदस्यमध्ये ४९ जना महिला निर्वाचित भएका छन्। यो कुल निर्वाचित सदस्यको ४९.४९ प्रतिशत हो।
रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका थिए। सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय समितिमा महिला र पुरुष प्रतिनिधित्व झन्डै बराबरीको अवस्थामा पुगेको छ। बागमती प्रदेशबाट निर्वाचित सबै केन्द्रीय सदस्य महिला हुनु विशेष उपलब्धिका रूपमा हेरिएको छ।
नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनले प्रत्येक पार्टी कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ। रास्वपाले भने उक्त संवैधानिक व्यवस्थाभन्दा माथि उठेर झन्डै ५० प्रतिशत महिला नेतृत्वलाई केन्द्रीय तहमा स्थापित गरेको छ।
पछिल्लो आमनिर्वाचनमा पनि रास्वपाबाट एक दर्जनभन्दा बढी महिला प्रत्यक्ष निर्वाचित भएर सङ्घीय संसद्मा पुगेका थिए। पार्टीको स्थापना कालदेखि नै महिला नेतृत्वलाई प्राथमिकता दिँदै आएको रास्वपामा यस महाधिवेशनमार्फत ठूलो सङ्ख्यामा महिला नेतृत्वको उदय भएको विश्लेषण गरिएको छ।
भूगोलतर्फ ७५ प्रतिशतभन्दा बढी र खुला प्रतिस्पर्धामा समेत करिब ४० प्रतिशत महिला निर्वाचित हुनुले पार्टीको नीति निर्माणको केन्द्रमा महिलाको प्रभावकारी सहभागिता सुनिश्चित भएको संकेत गरेको छ। यसले समानुपातिक तथा समावेशी प्रतिनिधित्वप्रति रास्वपाको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।
रास्वपाको विधानअनुसार ९९ सदस्य निर्वाचनबाट चयन हुने र थप ५१ सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। पूर्ण १५८ सदस्यीय केन्द्रीय समिति गठन गर्दा बाँकी मनोनयन प्रक्रियामा जातीय, क्षेत्रीय तथा सामाजिक समावेशिताको सन्तुलन कसरी कायम गरिन्छ भन्ने विषय पनि चासोका रूपमा हेरिएको छ।
निर्वाचित ४९ महिला केन्द्रीय सदस्यहरूमा सोविता गौतम, तोसिमा कार्की, रञ्जु दर्शना, निशा डाँगी, इन्दिरा रानामगर, रिमा विश्वकर्मा, समीक्षा बाँस्कोटा, गीता चौधरी, लिमा अधिकारी, प्रकृति ढकाल, टीका संग्रौला, क्रान्तिशिखा धिताल, जमुना शर्मा, सुशीला कार्की पोखरेल, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, करिश्मा कठरिया, जुली यादव हुनुहुन्छ ।
यसै गरी, कामिनी चौधरी, सविना विक, खिमा विक, समिन्ना मियाँ, निशा मेहता, शोभा कार्की, कल्पना थापा, सुजाता तामाङ, सुष्मा बस्नेत, सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह, प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ, पार्वती थापा, पवित्रा थापा, विष्णु कुमारी गुरुङ, कल्पना पाण्डे, संगीता ढकाल, शर्मिला खनाल, ज्ञानु पौडेल, सीता बादी, विनिता कठायत, टासी ल्हाङजोम, मेनुका शाही, जानिका जोशी तथा चन्द्रा ऐर चाँदनी निर्वाचित हुनुभएको छ।




प्रतिक्रिया राख्नुहोस्