गृहमन्त्री सुधन गुरुङले भेष बदलेर मध्यतराईका सीमा क्षेत्रको छड्के अनुगमन गरेपछि रौतहटसहित सीमावर्ती जिल्लाको सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण, शान्तिसुरक्षा सुदृढीकरण तथा स्थानीय नागरिकका गुनासा प्रत्यक्ष सुनेपछि सुरक्षा निकाय थप सक्रिय बनेको हो।
गृहमन्त्रीले हालै बारा, पर्सा लगायतका सीमावर्ती क्षेत्रमा सामान्य नागरिककै भेषमा पुगेर सीमास्थित नाका, बजार तथा सुरक्षा अवस्थाको निरीक्षण गर्नुभएको थियो।
अनुगमनका क्रममा उहाँले स्थानीय बासिन्दा, व्यापारी तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै सीमा क्षेत्रमा हुने तस्करी, अवैध कारोबार, सुरक्षा चुनौती र नागरिकले भोग्नुपरेका समस्याबारे जानकारी लिनुभएको थियो।
स्थानीयले खुला सीमाका कारण हुने चोरी–तस्करी, लागुऔषध ओसारपसार तथा सुरक्षा निगरानी कमजोर भएको गुनासो गरेपछि गृहमन्त्रीले सुरक्षा निकायलाई तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न कडा निर्देशन दिनुभएको थियो। त्यसको प्रभाव रौतहटसहित मध्यतराईका जिल्लामा देखिन थालेको सुरक्षा अधिकारीहरूको भनाइ छ।
प्रहरी उपरीक्षक तथा रौतहट प्रहरी प्रमुख सीताराम रिजालले बदलिँदो परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै जिल्लास्थित अन्य सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था थप चुस्त बनाइएको बताउनुभयो। उहाँका अनुसार मातहतका सबै प्रहरी युनिटलाई अझ सक्रिय, जिम्मेवार र व्यावसायिक ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिइएको छ।
उहाँले भन्नुभयो, “सुरक्षाका दृष्टिले अति संवेदनशील र संवेदनशील क्षेत्रको पहिचान गरी सोहीअनुसार हरेक पाँच किलोमिटरको दूरीमा प्रहरी पोस्टको व्यवस्था गरिएको छ।
जिल्ला प्रहरी कार्यालय गौरको कमाण्डमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा चपुर र गरुडास्थित प्रहरी कार्यालयको निगरानीमा मातहतका १० वटा इलाका प्रहरी कार्यालय तथा जिल्लाभरका प्रहरी पोस्टमा खटिएका करिब ९०० प्रहरीलाई थप सक्रिय बनाइएको छ।”
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार बारा, पर्सा र सर्लाहीका सुरक्षा अधिकारीहरूसँग आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
त्यसपछि शान्तिसुरक्षाको अवस्था उल्लेखनीय रूपमा सुधार भएको, नागरिकका गुनासा घटेको तथा अवैध कारोबारमा संलग्न व्यक्तिविरुद्ध कारबाही तीव्र पारिएपछि तस्करीमा संलग्न समूहहरू विस्थापित हुन थालेका छन्।

उहाँका अनुसार तस्करी नियन्त्रणमा प्रभावकारी कारबाही गरिएपछि राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ भने समग्रमा जिल्लाको सुरक्षा अवस्था अपेक्षाभन्दा सुदृढ बनेको छ।
जिल्लास्थित सरमुजवा (बङ्कुल), मोतिपुर नरकटिया, रामपुरखात, जयनगर, मठिया, औरैया, बजरहा, अमरपट्टि, गौर भन्सार र बेलबिचवास्थित १० वटा इलाका प्रहरी कार्यालय तथा मातहतका प्रहरी पोस्टमा खटिएका सुरक्षाकर्मीले भरपर्दो सुरक्षा सेवा प्रदान गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैबीच, रौतहटसँग जोडिएको बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयले अपराध तथा तस्करी नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गर्दै पछिल्लो आठ महिनामा करिब एक करोड १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरी पथलैया भन्सार कार्यालयलाई बुझाएको जनाएको छ।
कार्यालयका प्रहरी निरीक्षक कृष्णादेव साहका अनुसार गत शनिबार मात्रै एकै दिन ३० लाख ९० हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ। सीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि कचौरवा, अडुवा खोला, पचरौता, पिपरपाटी, घाटतोलालगायतका नाकामा प्रहरी परिचालन थप प्रभावकारी बनाइएको उहाँले बताउनुभयो।




प्रतिक्रिया राख्नुहोस्