जापानमा भालुको आक्रमणबाट तीन महिनामै पाँचजनाको मृत्यु
जापानमा भालुको आक्रमणबाट मानिसको मृत्यु हुने घटनामा वृद्धि भइरहेका बेला उत्तरी आओमोरी प्रान्तमा फेरि एक व्यक्तिको मृत्यु भालुको आक्रमणबाट भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
आओमोरी प्रान्तीय अधिकारीहरूका अनुसार सोमबार पहाडी क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका थिए। उनको शरीरमा भालुले टोकेको जस्तो देखिने घाउ भेटिएपछि मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।
“मृत्युको वास्तविक कारणबारे प्रहरीले अझै अनुसन्धान गरिरहेको छ, तर शवमा भालुको टोकाइका चिन्ह फेला परेका छन्,” स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।
पछिल्ला वर्षहरूमा जापानमा भालुको आक्रमणका घटना निरन्तर बढिरहेका छन्। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तन, भालुको बढ्दो संख्या, जंगल नजिकका ग्रामीण क्षेत्रमा जनसंख्या घट्दै जानु तथा खाद्य अभावका कारण भालु मानव बस्ती नजिक आउन थालेपछि यस्ता घटना बढेका हुन्।
सरकारी तथ्यांकअनुसार गत अप्रिलयता मात्रै भालुको आक्रमणबाट जापानमा पाँच जनाको मृत्यु भइसकेको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा पाँच गुणाले बढी हो।
सार्वजनिक रूपमा उपलब्ध तथ्यांकअनुसार सन् २०१८ यताकै अवधिमा अप्रिलदेखि जुनसम्म तीन महिनामा दुई जनाभन्दा बढीको मृत्यु भएको यो पहिलो पटक हो।
गत वर्ष जापानमा भालुको आक्रमणबाट रेकर्ड १३ जनाको ज्यान गएको थियो। यो हालसम्मकै सबैभन्दा उच्च संख्या हो। हिउँदे निद्राबाट ब्युँझिएपछि खाना खोज्दै भालु मानव बस्तीमा पस्ने क्रम बढेसँगै मानिस–भालु जम्काभेटका घटनामा उल्लेख्य वृद्धि भएको अधिकारीहरूले बताएका छन्।
सरकारी तथ्यांकअनुसार गत मार्चसम्मको एक वर्षमा देशभर भालु देखिएको संख्या ५० हजार नाघेको थियो, जुन दुई वर्षअघि कायम भएको अघिल्लो रेकर्डको दोब्बरभन्दा बढी हो।
यसै महिनाको सुरुआतमा टोकियोको उत्तरस्थित उत्सुनोमिया सहरमा चार दिनसम्म सडकमा भालु घुमेपछि दर्जनौं प्रहरी, शिकारी र नगर अधिकारी परिचालन गरिएका थिए भने विद्यालयहरू समेत बन्द गर्नुपरेको थियो।
त्यस्तै, फुकुसिमा क्षेत्रमा यसै महिना एउटा भालुले दुईवटा कारखाना र एक आवासीय क्षेत्रमा चार जनामाथि आक्रमण गरी घाइते बनाएको थियो। त्यसपछि उक्त भालु शिकारीको टोलीबाट भाग्न सफल भएको थियो।
जापान सरकारले ग्रामीण तथा पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन, जंगलमा जाँदा समूहमा जान र भालु भगाउने उपकरण प्रयोग गर्न आग्रह गर्दै आएको छ।




प्रतिक्रिया राख्नुहोस्