निर्मला पन्त हत्या प्रकरणमा गालीबेइज्जती मुद्दाका दोषी पत्रकार भण्डारी पक्राउ
कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सम्बन्धी अभिव्यक्तिलाई लिएर गालीबेइज्जती मुद्दामा अदालतले दोषी ठहर गरेका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्ला अदालतले गालीबेइज्जती कसुरमा दोषी ठहर गर्दै सुनाएको कैद सजाय कार्यान्वयनका क्रममा प्रहरीले भण्डारीलाई बिहीबार बिहान पक्राउ गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई भीमदत्त नगरपालिका–१८ कटानबाटपक्राउ गरिएको जानकारी दिनुभयो।
निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अभिव्यक्तिका कारण दायर भएको गालीबेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते पत्रकार भण्डारीलाई दोषी ठहर गरेको थियो।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उहाँलाई गालीबेइज्जती कसुरमा एक महिनाको कैद सजाय सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि प्रहरीले भभण्डारीलाई पक्राउ गरेको जनाएको छ।
निर्मला पन्त प्रकरणमा आफूलाई तथ्यहीन रूपमा जोडेर समाचार प्रकाशित गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट -हाल अवकाशप्राप्त एसएसपी)का छोरा तथा पत्रकार किरण बिष्टले पत्रकार भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा दायर गर्नुभएको थियो।
२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भन्दै घरबाट निस्किएकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाको निम्बुखेडा खोलानजिकैको उखुबारीमा मृत अवस्थामा भेटिनुभएको थियो।
बलात्कारपछि हत्या भएको उक्त घटनाले देशव्यापी आक्रोश उत्पन्न गरेको थियो। व्यापक अनुसन्धान, छानबिन समिति र पटक–पटकका सरकारी प्रतिबद्धताका बाबजुद घटनाका वास्तविक दोषी हालसम्म पहिचान हुन सकेका छैनन्, जसका कारण यो प्रकरण नेपालको सबैभन्दा चर्चित र रहस्यमय आपराधिक घटनामध्ये एकका रूपमा रहँदै आएको छ।




प्रतिक्रिया राख्नुहोस्