जन सरोकार

तस्करीको नयाँ शैली : कपडाको कार्गोमा लुकाएर अमेरिका पठाइँदै थियो सुन, दुई पक्राउ

लत्ताकपडा र जुत्ता रहेको भन्दै भन्सार जाँचपाससमेत भइसकेको कार्गोभित्र ठूलो परिमाणमा सुनचाँदीका गरगहना लुकाएर अमेरिका पठाउन खोजिएको घटना सार्वजनिक भएको छ।

कपडा तथा जुत्ताजस्ता सामान्य सामानको आवरण प्रयोग गरी बहुमूल्य गरगहना विदेश पठाउने प्रयास भएको देखिएकाले यसलाई सुन तस्करीको सम्भावित नयाँ शैलीका रूपमा समेत अनुसन्धान गर्न प्रहरीले थालेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो कम्प्लेक्सबाट अमेरिका पठाउन तयारी अवस्थामा रहेको उक्त कार्गोको एक्स–रे परीक्षणका क्रममा सुनका गरगहना फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र झापास्थित युनिक कार्गो (बौचा) का सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई पक्राउ गरेको छ।

समाचार अनुसार जुत्ता, पाइन्ट, साडीलगायतका कपडा रहेको उल्लेख गरी अमेरिका पठाउन लागिएको कार्गो बाकस एक्स–रे गर्दा ठूलो परिमाणमा सुनका गरगहना लुकाइएको भेटिएको थियो। उक्त कार्गो युनिक कार्गो र एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको थियो।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार असार १६ गते साँझ करिब ५:३० बजे मेनिफेस्ट नम्बर एएमएस–एपी–३२१ अन्तर्गत अमेरिका पठाउन तयारी अवस्थामा रहेको कार्गोको अन्तिम सुरक्षा परीक्षणका क्रममा शंका लागेपछि विस्तृत जाँच गरिएको थियो।

कार्गो कागजातमा जुत्ता, पाइन्ट, साडीलगायतका कपडा उल्लेख भए पनि एक्स–रे परीक्षणमा अस्वाभाविक वस्तु देखिएपछि खोल्न लगाउँदा ठूलो परिमाणमा सुनका गरगहना बरामद भएको उहाँले जानकारी दिनुभयो।

प्रारम्भिक अनुसन्धानबाट उक्त कार्गोले भन्सार जाँचपाससमेत गरिसकेको खुलेको छ। अर्थात् भन्सार प्रक्रिया पूरा भएपछि अन्तिम सुरक्षा परीक्षणका क्रममा मात्रै गरगहना फेला परेका हुन्। बरामद गरिएका गरगहनाका वास्तविक धनी भनिएका व्यक्ति भने घटनाअघि नै अमेरिका प्रस्थान गरिसकेका छन्।

यसले भन्सार प्रणालीको दुरुपयोग गरी कपडाको कार्गोभित्र बहुमूल्य गरगहना लुकाएर विदेश पठाउने प्रयास भएको देखिएको भन्दै प्रहरीले यसलाई तस्करीको संगठित नयाँ तरिका हुनसक्ने कोणबाट पनि अनुसन्धान अघि बढाएको जनाएको छ।

बरामद गरिएका सामग्रीमा २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८ थान सिंगल ब्रोच, १८ थान डबल ब्रोच, ५ थान ठूलो शिरफूल, २ थान सानो शिरफूल, नेपालको झण्डा अंकित १६ थान ब्रोच रहेका छन्।

यसे गरी २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार, १ थान त्रिशूल, ४ थान गोलावा नेक्लेस, ९ थान चारपाटे नेक्लेस, २६ थान काँडावाला चुरा, इयरलिङसहितका ३ सेट शिरबन्दी, ३ जोर झुम्का, ४ थान तिलहरी र १ थान सिक्री रहेका छन्।

प्रहरीले कार्गो कम्पनी सञ्चालक, सामान पठाउने व्यक्ति तथा यात्रुको भूमिकासहित गरगहनाको स्रोत, भन्सार जाँचपास कसरी सम्पन्न भयो, सुन विदेश पठाउने योजनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

अनुसन्धानबाट यो घटना व्यक्तिगत प्रयास मात्रै हो वा संगठित सुन तस्करी सञ्जालको नयाँ कार्यशैली हो भन्ने विषय खुल्ने प्रहरीको विश्वास छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.