जापान

भारतसँग रणनीतिक र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

भारत भ्रमणको मुख्य उद्देश्य व्यापार, लगानी, आर्थिक सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), सेमिकन्डक्टर, ऊर्जा, रक्षा तथा आपूर्ति शृङ्खला (सप्लाइ चेन) मा सहकार्य विस्तार गर्नु रहेको छ।

बुधबार नयाँदिल्ली आइपुग्नुभएकी ताकाइचीलाई केन्द्रीय विज्ञान तथा प्रविधि राज्यमन्त्री जितेन्द्र सिंहले पालम प्राविधिक विमानस्थलमा स्वागत गर्नुभएको थियो। त्यसलगत्तै उहाँले सामाजिक सञ्जाल एक्समार्फत भारतको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै आफ्नो पहिलो भारत भ्रमणप्रति उत्साहित रहेको बताउनुभएको थियो।

बिहीबार राष्ट्रपति भवनमा उहाँलाई औपचारिक सम्मान प्रदान गरिएको थियो। त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भएको १६औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा दुई नेताबीच द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विस्तृत छलफल भएको छ।

भेटवार्तापछि भारत र जापानबीच कृत्रिम बुद्धिमत्ता, ऊर्जा, धातु तथा आर्थिक सुरक्षासम्बन्धी सहकार्यलाई संस्थागत बनाउने उद्देश्यले विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ। दुवै देशले आर्थिक सुरक्षासम्बन्धी साझा मार्गचित्र (रोडम्याप) पनि तयार गरेका छन्।

प्रधानमन्त्री मोदीले भारत–जापान विशेष रणनीतिक तथा वैश्विक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै लगानी, नवप्रवर्तन, रक्षा, प्रविधि तथा स्वच्छ ऊर्जा क्षेत्रमा सहकार्यलाई नयाँ चरणमा लैजाने सहमति भएको बताउनुभएको छ। उहाँले स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक क्षेत्रको साझा दृष्टिकोणलाई पनि पुनः पुष्टि गर्नुभएको छ।

प्रधानमन्त्री ताकाइचीले अन्तर्राष्ट्रिय परिस्थितिमा बढ्दो अनिश्चितताका बीच समान लोकतान्त्रिक मूल्य र रणनीतिक हित साझा गर्ने भारतसँगको सहकार्य झन् महत्त्वपूर्ण बन्दै गएको बताउनुभयो।

उहाँले आर्थिक सुरक्षा, महत्वपूर्ण खनिज, सेमिकन्डक्टर, आपूर्ति शृङ्खला, नवप्रवर्तन तथा निजी क्षेत्रबीचको साझेदारीलाई अझ मजबुत बनाउने दिशामा ठोस प्रगति हुने विश्वास व्यक्त गर्नुभयो।

भ्रमणका क्रममा दुवै देशले ऊर्जा सुरक्षामा सहकार्य विस्तार, एलएनजी आपूर्ति व्यवस्थापन, उच्च प्रविधि तथा महत्वपूर्ण खनिज क्षेत्रमा संयुक्त पहल अघि बढाउने विषयमा पनि छलफल गरेका छन्। साथै जापानी लगानी थप विस्तार गर्ने र उद्योग–व्यवसायबीचको सहकार्यलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

प्रधानमन्त्री मोदीको निमन्त्रणामा ताकाइची जुलाई १ देखि ३ सम्म भारतको औपचारिक भ्रमणमा रहनुभएको हो। यो उहाँको जापानको प्रधानमन्त्री बनेपछि भारतको पहिलो औपचारिक भ्रमण हो, जसलाई भारत–जापान सम्बन्धलाई नयाँ गति दिने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.