एआइको सहायताले कम्पनी दर्ता सहज, घरबाटै दर्तादेखि प्यान नम्बरसम्म
कम्पनी रजिष्ट्रारको कार्यालयले कृत्रिम बौद्धिकता (एआइ) र डिजिटल प्रविधिको व्यापक प्रयोग गर्दै कम्पनी दर्ता तथा सम्बन्धित सेवा पूर्ण रूपमा प्रविधिमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ।
कार्यालयले सेवाप्रवाहलाई छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै प्रशासनिक खर्च घटाउने तथा कम जनशक्तिबाट बढी सेवा प्रवाह गर्ने लक्ष्यसहित संरचनागत सुधारसमेत अघि बढाएको छ।
कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठका अनुसार हाल उपलब्ध डिजिटल प्रणाली र स्वचालित प्रविधिको प्रभावकारी उपयोगका कारण परम्परागत कार्यशैलीमा ठूलो परिवर्तन आएको छ।
यही आधारमा कार्यालयले हालको कर्मचारी संरचनामा करिब २८ प्रतिशत कटौती गर्न सकिने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष पेश गरेको छ। प्रविधिको अधिकतम प्रयोगले सेवा प्रवाहको गति बढ्नुका साथै प्रशासनिक खर्चसमेत उल्लेख्य रूपमा घट्ने कार्यालयको विश्वास छ।
एआइ कल सेन्टरबाट २४सै घण्टा सेवा
सेवाग्राहीका जिज्ञासा, गुनासा र समस्याको तत्काल समाधानका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले कृत्रिम बौद्धिकता (एआइ) मा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ। यसबाट कम्पनी दर्ता, नवीकरण, नियम तथा प्रक्रियासम्बन्धी जानकारी अब २४सै घण्टा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यालयका अनुसार एआइ प्रणालीले सामान्य प्रकृतिका अधिकांश प्रश्नको तत्काल उत्तर दिने भएकाले सेवाग्राहीले कार्यालय धाइरहनुपर्ने अवस्था उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।
घरबाटै कम्पनी दर्ता र प्यान नम्बर
शासकीय सुधारसम्बन्धी सरकारको प्रतिवेदनमा समेटिएका सुधार कार्यक्रम कार्यान्वयन गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइनमा रूपान्तरण गरेको छ।
यसअनुसार अब कम्पनी दर्ताका लागि कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ। सेवाग्राहीले आफ्नै घर वा कार्यालयबाट आवश्यक कागजात अपलोड गरी सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत पूरा गर्न सक्नेछन्।
त्यसैगरी, कम्पनी दर्तापछि व्यवसाय सञ्चालनका लागि आवश्यक स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा छुट्टै जानुपर्ने झन्झटसमेत हटाइएको छ।
कम्पनी रजिष्ट्रारको प्रणालीलाई आन्तरिक राजस्व विभागसँग एकीकृत गरिएकाले दर्तापश्चात् आवश्यक प्रक्रिया स्वचालित रूपमा अघि बढ्ने व्यवस्था गरिएको छ। कार्यालयका अनुसार यसले सेवाग्राहीको समय, लागत र प्रशासनिक झन्झट उल्लेख्य रूपमा घटाउनेछ।
उद्योगमन्त्रीको अनुगमन, प्रविधिमैत्री सेवा विस्तारमा जोड
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमार कार्कीले शुक्रबार कम्पनी रजिष्ट्रारको कार्यालयको अनुगमन गर्दै प्रविधिमैत्री सेवा विस्तारलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
मन्त्री कार्कीले सेवाग्राहीमैत्री प्रशासन, डिजिटल सुशासन र कृत्रिम बौद्धिकतासहितका नवीन प्रविधिको अधिकतम उपयोगमार्फत सरकारी सेवा अझ सरल, छिटो र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ।
सरकारले पछिल्ला वर्षहरूमा सार्वजनिक सेवालाई डिजिटल माध्यममा रूपान्तरण गर्ने अभियानलाई प्राथमिकता दिइरहेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले अघि सारेका यी सुधारहरू सफल कार्यान्वयन भएमा व्यवसाय दर्ता प्रक्रिया थप सहज हुने, प्रशासनिक खर्च घट्ने तथा निजी क्षेत्रमैत्री व्यावसायिक वातावरण निर्माणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्