जन सरोकार

डोल्पामा लेदोसहितको बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार बिहान लेदोसहितको बाढी गाउँमा पस्दा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

निरन्तरको वर्षापछि धुलाखोलामा आएको हिलो, लेदो र ढुंगासहितको बाढीले बस्तीमा ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार शनिबार बिहान करिब ३ बजेतिर आएको बाढीले स्थानीय ५६ वर्षीया आनन्दी विकलाई बगाएको थियो।

बाढीले घर पुरिएपछि प्रहरी चौकी माझगाउँबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उहाँलाई उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि स्वास्थ्य चौकी काइगाउँतर्फ लैजाँदै गर्दा उहाँको मृत्यु भएको डीएसपी गिरीले जानकारी दिनुभयो।

बाढीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरी उद्धार, खोजी तथा क्षतिको विवरण संकलनको काम अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीका कारण कम्तीमा आठ वटा घरमा क्षति पुगेको छ। बाढीमा परी स्थानीय चाउरी विक (अन्दाजी ५० वर्ष), रेउली विक (४४ वर्ष), विष्णु विक (४८ वर्ष), निरुता विक (१५ वर्ष), सीता विक (१३ वर्ष) र जस विक (६५ वर्ष) घाइते हुनुभएको छ।

घाइतेमध्ये पाँच जनाको अवस्था सामान्य भएपछि उपचारपछि घर फर्काइएको छ। एक जनाको अवस्था भने गम्भीर रहेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

उहाँलाई हेलिकप्टरमार्फत उद्धार गर्ने वा सडक पहुँच नजिकको जुम्लास्थित अस्पतालमा स्थानान्तरण गर्ने विषयमा सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्यलाई निरन्तरता दिएका छन्। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

मनसुन सक्रिय भएसँगै डोल्पासहित कर्णालीका पहाडी तथा हिमाली जिल्लामा नदी, खोला र पहिरोको जोखिम बढेकाले स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.