विश्व समाचार

मध्यपूर्वमा तनाव घट्दै, ओपेक प्लसले तेल उत्पादन थप बढाउने संकेत

मध्यपूर्वमा हालैको द्वन्द्वपछि उत्पन्न तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन थप बढाउने तयारी गरेको छ।

विश्लेषकहरूका अनुसार समूहको आगामी बैठकले उत्पादन विस्तारसम्बन्धी नयाँ निर्णय गर्न सक्ने सम्भावना रहेको छ। साउदी अरेबिया, रुसलगायत सात प्रमुख उत्पादक देशले अगस्ट महिनाको उत्पादन कोटा निर्धारण गर्न अनलाइन बैठकमार्फत छलफल गर्ने कार्यक्रम रहेको छ।

स्विस बैंक युबिएसका वस्तु बजार विश्लेषक जियोभानी स्टाउनोभोका अनुसार ओपेक प्लसले पछिल्ला महिनादेखि क्रमिक रूपमा फिर्ता लिँदै आएको उत्पादन कटौतीलाई थप खुकुलो बनाउँदै दैनिक करिब पाँच लाख ४८ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने निर्णय गर्न सक्ने अनुमान गरिएको छ।

हालै मध्यपूर्वमा भएको द्वन्द्वका क्रममा विश्वको प्रमुख तेल ढुवानी मार्ग मानिने होर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न हुँदा अन्तर्राष्ट्रिय तेल आपूर्तिमा दबाब परेको थियो।

तर इरान र अमेरिकाबीच तनाव कम भएसँगै समुद्री ढुवानी पुनः सहज बन्दै गएको र आपूर्ति प्रणाली पनि सामान्य अवस्थामा फर्किन थालेको विश्लेषकहरूको भनाइ छ।

यससँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि युद्धताकाको उच्च स्तरबाट घटेर अपेक्षाकृत स्थिर बन्दै गएको छ।

स्याक्सो बैंकका विश्लेषक ओले ह्यान्सेनका अनुसार द्वन्द्वका कारण प्रभावित उत्पादन पूर्ण रूपमा पुनः सञ्चालन हुन केही समय लाग्ने भए पनि आगामी महिनाहरूमा उत्पादन वृद्धिको गति अझ तीव्र हुन सक्ने देखिएको छ।

विशेषज्ञहरूले आगामी वर्ष विश्व बजारमा तेलको आपूर्ति मागभन्दा बढी हुन सक्ने अनुमान गरेका छन्। यद्यपि सदस्य राष्ट्रहरूको उत्पादन क्षमता पुनर्मूल्याङ्कन, कोटा बाँडफाँट तथा बजार सन्तुलन कायम गर्ने विषय ओपेक प्लसका लागि चुनौतीपूर्ण रहने उनीहरूको आकलन छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.