गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन, व्यवस्थापन र नियन्त्रण गर्ने उद्देश्यले तयार गरिएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती (व्यवस्थापन तथा नियमन) विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ।
प्रदेशसभाको दशौं अधिवेशनअन्तर्गत बिहीबार बसेको २१औँ बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्नुभयो।
यससँगै गण्डकी प्रदेशमा कडा कानुनी मापदण्ड पूरा गरी औषधि, अनुसन्धान तथा औद्योगिक कच्चा पदार्थ उत्पादनका लागि गाँजा खेती गर्ने कानुनी आधार तयार भएको छ।
यसअघि प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले विधेयकसम्बन्धी प्रतिवेदन सभामा पेस गर्नुभएको थियो। बिहीबार उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो।
छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेलले आफ्ना धारणा राख्नुभएको थियो।
विधेयकले लागुऔषधीय प्रयोग हुने गाँजा र औद्योगिक तथा औषधीय प्रयोजनका लागि प्रयोग हुने हेम्पबीच स्पष्ट विभाजन गरेको छ।
खेती गर्न पाइने गाँजामा रहेको नशालु तत्व टेट्राहाइड्रोक्यानाबिनोल (टीएचसी) को मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ। यस्तो मात्रा भएका जातलाई अन्तर्राष्ट्रिय रूपमा पनि औद्योगिक हेम्पका रूपमा वर्गीकरण गरिन्छ।
विधेयकअनुसार औषधि उत्पादन, वैज्ञानिक अनुसन्धान, निकासी वा औद्योगिक उपयोगका लागि हुने खेती प्रदेश सरकारको प्रत्यक्ष नियमनमा हुनेछ। सरकारले तोकेको क्षेत्रमा मात्र खेती गर्न पाइनेछ भने अनुमति नलिई खेती गर्न पाइने छैन।
खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्ने, जग्गाको क्षेत्रफल र सम्बन्धित निकायको पूर्वस्वीकृति आवश्यक पर्ने व्यवस्था गरिएको छ।
गाँजा कटान वा बिक्रीअघि यसको रासायनिक परीक्षण अनिवार्य हुनेछ। त्यसका लागि प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्रसँगको सहकार्यमा प्रयोगशाला स्थापना गर्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
त्यसैगरी गाँजाको दुरुपयोग रोक्न उपचार केन्द्र, पुनःस्थापना सेवा सञ्चालन गर्ने तथा गैरकानुनी प्रयोग गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पनि प्रदेश सरकारलाई दिइएको छ।
गाँजाका औषधीय गुणबारे के भन्छ विज्ञान ?
पछिल्ला दुई दशकमा गाँजामा पाइने क्यानाबिनोइड नामक रासायनिक तत्वमाथि विश्वभर व्यापक अनुसन्धान भइरहेको छ। विशेष गरी क्यानाबिडियोल र टेट्राहाइड्रोक्यानाबिनोल का औषधीय उपयोगबारे धेरै अध्ययन भएका छन्।
हाल वैज्ञानिक प्रमाणका आधारमा गाँजाबाट क्यान्सरको किमोथेरापीपछि हुने वाकवाकी र बान्ता कम गर्न, दीर्घकालीन स्नायुजन्य पीडा नियन्त्रण गर्न, मल्टिपल स्क्लेरोसिसका बिरामीमा हुने मांसपेशीको अकडन कम गर्न, दुर्लभ प्रकारका बालबालिकाको मिर्गी नियन्त्रण गर्ने औषधिहरू प्रयोग भइरहेका छन् ।
तर चिकित्सकहरूको भनाइअनुसार गाँजा सबै रोगको उपचार होइन। यसको प्रयोग चिकित्सकीय सल्लाह, निर्धारित मात्रा र कानुनी मापदण्डभित्र मात्रै सुरक्षित मानिन्छ।
हाल विश्वका धेरै मुलुकले औषधीय वा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गरेका छन्। क्यानडा, जर्मनी, अष्ट्रेलिया, इजरायल, पोर्चुगल, स्विजरल्यान्ड, थाइल्यान्ड, उरुग्वे तथा अमेरिकाका धेरै राज्यहरूले औषधीय गाँजाको प्रयोगलाई कानुनी मान्यता दिएका छन्। युरोपका धेरै देशमा औद्योगिक हेम्प खेती दशकौँदेखि कपडा, कागज, जैविक प्लास्टिक, निर्माण सामग्री, सौन्दर्य प्रसाधन र खाद्य पदार्थ उत्पादनमा प्रयोग हुँदै आएको छ।
गण्डकी प्रदेश सरकारले २०८२ कात्तिक २८ गते प्रदेशसभाको अर्थ तथा विकास समितिमा पठाएको उक्त विधेयकमाथि ११ वटा बैठकमा विस्तृत छलफल गरिएको थियो। आवश्यक संशोधनपछि अन्ततः प्रदेशसभाले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो।
विधेयक कार्यान्वयनमा आएपछि गण्डकी प्रदेशमा गाँजालाई लागुऔषधका रूपमा नभई वैज्ञानिक अनुसन्धान, औषधि उत्पादन, निर्यात तथा औद्योगिक कच्चा पदार्थका रूपमा नियमनसहित उपयोग गर्ने कानुनी आधार स्थापित भएको छ।




प्रतिक्रिया राख्नुहोस्