संस्कृति

तलेजु भवानीका गहना फिर्ता ल्याउन अमेरिकी पक्षसँग कूटनीतिक पहल

काठमाडौंबाट चोरी भई विदेश पुगेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा स्वदेश फिर्ता ल्याउने अभियानअन्तर्गत तलेजु भवानीका १४औँ शताब्दीका बहुमूल्य गहना फिर्ता गराउन अमेरिकी पक्षसँग कूटनीतिक पहल सुरु गरिएको छ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल र नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच भएको शिष्टाचार भेटवार्ताका क्रममा तलेजु भवानीका चोरी भएका ऐतिहासिक गहना नेपाल फर्काउने विषयमा छलफल भएको हो।

भेटमा डङ्गोलले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र विदेश पुगेका पुरातात्त्विक वस्तु स्वदेश फिर्ता गराउने अभियानमा अमेरिकी पक्षको सहयोग अपेक्षा गरिएको बताउनुभयो।

उहाँले काठमाडौं उपत्यकाबाट विगतका दशकहरूमा चोरी भई विभिन्न देशका सङ्ग्रहालय, कला प्रदर्शनी तथा निजी सङ्कलनमा पुगेका पुरातात्त्विक महत्वका मूर्ति, देवदेवीका प्रतिमा, धातुकला, काष्ठकला तथा धार्मिक सामग्री कानुनी र कूटनीतिक प्रक्रियामार्फत नेपाल फर्काउने अभियानलाई महानगरले निरन्तर अघि बढाइरहेको जानकारी दिनुभयो।

डङ्गोलले भन्नुभयो, “काठमाडौंबाट चोरी गरी विदेशका सङ्ग्रहालय तथा अन्य स्थानमा पुर्‍याइएका पुरातात्त्विक महत्वका सम्पदालाई कानुनी र कूटनीतिक प्रक्रिया पूरा गरी आफ्नै देशमा फर्काउने अभियानमा हामी सक्रिय छौँ। तलेजु भवानीका ऐतिहासिक गहना पनि नेपालकै अमूल्य सम्पदा भएकाले तिनलाई स्वदेश फिर्ता ल्याउन आवश्यक सहयोग र समन्वयको अपेक्षा गरेका छौँ।”

भेटका क्रममा कार्यवाहक राजदूत अर्बमले काठमाडौं महानगरपालिकाले अघि बढाइरहेका सम्पदा संरक्षण, सुशासन तथा नागरिकमुखी कार्यक्रमबारे जिज्ञासा राख्नुभएको थियो।

त्यसक्रममा डङ्गोलले महानगरले विधिको शासन, मानव अधिकारको सम्मान र नागरिकको आवश्यकता तथा अपेक्षामा आधारित विकास योजनालाई प्राथमिकता दिएको बताउनुभयो।

तलेजु भवानीको ऐतिहासिक र धार्मिक महत्व

तलेजु भवानी, जसलाई तुलजा भवानीका नामले पनि चिनिन्छ, विशेषगरी नेवार समुदायकी इष्टदेवी तथा मल्लकालीन राज्य व्यवस्थाको शक्ति, समृद्धि र राजकीय संरक्षणको प्रतीकका रूपमा मानिन्छ। धार्मिक विश्वासअनुसार उहाँलाई मातृशक्ति तथा दैवी शक्तिको स्वरूपका रूपमा पूजा गरिन्छ।

इतिहासअनुसार कर्नाटवंशी राजा हरिहरसिंह देवले १४औँ शताब्दीमा तलेजु भवानीको आराधना नेपालमा भित्र्याएका थिए। त्यसपछि काठमाडौं, भक्तपुर र पाटनका मल्ल राजाहरूले तलेजु भवानीलाई आफ्नो कुलदेवी तथा राज्यकी प्रमुख संरक्षकका रूपमा स्थापना गरेका थिए।

मल्लकालीन शासन व्यवस्था, धार्मिक संस्कार र राजकीय परम्परामा तलेजु भवानीको विशेष स्थान रहेको इतिहासकारहरूले उल्लेख गर्दै आएका छन्।

नेवार समुदायमा तलेजु भवानीको पूजा तान्त्रिक विधिअनुसार गरिन्छ। यस पूजाका मुख्य पुजारीलाई कर्माचार्य भनिन्छ। तलेजु भवानीको पूजा परम्परा अत्यन्त गोप्य मानिने भएकाले यससँग सम्बन्धित धेरै धार्मिक विधि सार्वजनिक गरिँदैन।

काठमाडौंको हनुमानढोका दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रमा रहेका तलेजु मन्दिरहरू ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन्। यी मन्दिर वर्षभर सर्वसाधारणका लागि बन्द रहने र दसैँको महानवमीका दिन मात्र दर्शनका लागि खुला गरिने परम्परा रहिआएको छ।

सम्पदा फिर्ता ल्याउने अभियान

नेपालबाट अवैध रूपमा विदेश लगिएका मूर्ति, धार्मिक सामग्री तथा अन्य पुरातात्त्विक सम्पदा पछिल्ला वर्षहरूमा विभिन्न मुलुकबाट क्रमशः स्वदेश फिर्ता हुने क्रम बढिरहेको छ।

सरकारले परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग तथा सम्बन्धित देशका निकायसँग समन्वय गर्दै प्रमाणका आधारमा सम्पदा फिर्ता गराउने प्रयास गर्दै आएको छ।

तलेजु भवानीका १४औँ शताब्दीका ऐतिहासिक गहनासमेत नेपालको सांस्कृतिक पहिचान र धार्मिक सम्पदासँग जोडिएको अमूल्य धरोहर भएकाले तिनलाई स्वदेश फर्काउन सुरु गरिएको यो कूटनीतिक पहललाई सम्पदा संरक्षण अभियानको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.