राजनीति

जनकपुरमा हर्क साम्पाङका समर्थक र हिन्दु सम्राट सेनाबीच तनाव

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा मंगलबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको स्वागतका लागि पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको छ।

एआई सिर्जित सांकेतिक तस्वीर

साम्पाङ पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका हुन्। उहाँ जानकी मन्दिरमा दर्शन गर्न आउने कार्यक्रम रहेकाले स्वागतका लागि पहिले नै पुगेका समर्थकहरूलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले त्यहाँबाट हटाएको जनाइएको छ।

हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईको मासु खाने सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको छ।

घटनापछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेख्नुभएको छ, “गाई कसले खाएको रहेछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें। यो कसले कस्तो राजनीति गर्न खोजेको रहेछ ? जय जानकी मन्दिर !”

यसअघि उहाँले अर्को स्टाटसमा “जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ” भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले पुराना अभिव्यक्ति र धर्मको विषयलाई लिएर विवाद सिर्जना गरिएको आरोप लगाउँदै आफ्ना पार्टीका कार्यकर्तालाई संयमित रहन आग्रह गर्नुभएको छ।

जनकपुरमा मंगलबार श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रमसमेत आयोजना गरिएको छ। घटनापछि जानकी मन्दिर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.