राजनीति

कांग्रेसभित्र ‘हुकुमी शासन’ मौलायो, यसको अन्त्य आवश्यक छ : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको भन्दै ‘हुकुमी शासन’ को प्रवृत्ति मौलाएको टिप्पणी गर्नुभएको छ।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र निरंकुश शैली हावी हुन थालेको आरोप लगाउनुभयो।

उहाँले कुनै स्पष्टीकरण वा सोधपुछ नगरी वडा सभापतिहरूलाई सदस्यता अद्यावधिक नगरेको वा नगराएको आरोपमा जिम्मेवारीबाट हटाउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताउनुभयो।

कोइरालाले भन्नुभयो, “बिना स्पष्टीकरण, बिना सोधपुछ वडा सभापतिहरूलाई हटाइँदैछ। यस्तो व्यवहार हामी कसैलाई पनि स्वीकार्य हुन सक्दैन।

निरंकुशताको अन्त्य गर्न नेपाली कांग्रेसको जन्म भएको हो। तर आज कांग्रेसभित्रै हुकुमी शासन र निरंकुश प्रवृत्ति जन्मिँदै गएको छ। यसको अन्त्य गर्नु अहिलेको आवश्यकता हो।”

उहाँले पार्टी नेतृत्वलाई आन्तरिक लोकतन्त्र सुदृढ बनाउन र सबै पक्षलाई विश्वासमा लिएर संगठन सञ्चालन गर्न आग्रह गर्नुभयो।

पार्टी सभापति गगन थापालाई लक्षित गर्दै उहाँले कांग्रेसलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार अघि बढाउन तथा पार्टी एकतालाई बलियो बनाउन गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो।

त्यसै गरी, डा. कोइरालाले कांग्रेसको वैचारिक दिशाबारे पनि धारणा राख्दै जननायक बीपी कोइरालाले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवाद र पछिल्लो समय चर्चामा रहेको सामाजिक लोकतन्त्र एउटै अवधारणा नभएको स्पष्ट पार्नुभयो। कांग्रेसले आफ्नो मौलिक वैचारिक आधारलाई कमजोर हुन नदिनुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.