गाभीले नेपालसँग तीन लाख अमेरिकी डलरभन्दा बढी रकम फिर्ता नमाग्ने
खोपका लागि अन्तर्राष्ट्रिय साझेदार संस्था ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। उक्त रकम आगामी दिनमा गाभी ६.० कार्यक्रमअन्तर्गत नेपालले प्राप्त गर्ने नगद सहयोगबाट समायोजन गरिने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सभाका क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गाभी नेतृत्वसँग गरेको प्रत्यक्ष छलफल, त्यसपछिको निरन्तर पत्राचार तथा नेपालले पेश गरेको समाधान प्रस्तावका आधारमा गाभीले यस्तो निर्णय गरेको हो।
गाभीले नेपाललाई पठाएको पत्रमा यो निर्णय नेपालका लागि विशेष र एकपटकका लागि गरिएको व्यवस्था भएको उल्लेख गर्दै भविष्यमा यसलाई नजिरका रूपमा लिन नसकिने स्पष्ट पारेको छ।
नेपाल र गाभीबीच सन् २०१४ मा साझेदारी ढाँचामा हस्ताक्षर भएपछि गाभीको सहयोगमा सञ्चालित खोप कार्यक्रमको वित्तीय तथा व्यवस्थापकीय पक्षको समीक्षा गर्ने क्रममा सन् २०२२ मा विशेष लेखापरीक्षण गरिएको थियो।
उक्त लेखापरीक्षणले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको अवधिलाई समेटेको थियो। लेखापरीक्षण टोलीले स्वास्थ्य सेवा विभागसहित २२ वटा कार्यान्वयन निकायमा स्थलगत अध्ययन तथा परीक्षण गरेको थियो।
प्रारम्भिक प्रतिवेदनपछि नेपालले आवश्यक वित्तीय कागजात तथा अभिलेख उपलब्ध गराउँदै पुनःपरीक्षणको अनुरोध गरेको थियो। त्यसअनुसार गाभीको टोली २०२४ अप्रिल २२ देखि मे १ सम्म नेपाल आएर फलोअप लेखापरीक्षण सम्पन्न गरेको थियो।
पुनःपरीक्षणपछि गाभीले १३ नोभेम्बर २०२४ मा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै तीन लाख आठ हजार २७१ अमेरिकी डलर सम्बन्धमा नेपालको प्रतिबद्धता तथा भुक्तानी योजना माग गरेको थियो। त्यसपछि सरकारले यो विषयलाई कूटनीतिक तथा प्राविधिक तहबाट समाधान गर्ने पहल अघि बढाएको थियो।
यसैक्रममा मन्त्री मेहताले विश्व स्वास्थ्य सभाका अवसरमा गाभीका उच्च नेतृत्वसँग प्रत्यक्ष छलफल गर्नुभएको थियो। त्यसपछि ४ जुन २०२६ मा समाधानको प्रस्तावसहित औपचारिक पत्राचार गरिएको थियो। नेपालले पेश गरेको प्रस्तावलाई स्वीकार गर्दै गाभीले विवादित रकम फिर्ता नलिई आगामी सहयोगबाट समायोजन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
नेपालको खोप कार्यक्रममा गाभीको योगदान
गाभीले हालसम्म नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको सुरुआत तथा विस्तार, खोप भण्डारण तथा ढुवानी प्रणाली (कोल्ड चेन) सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको छ।
गाभीले आफ्नो पत्रमा राष्ट्रिय खोप कार्यक्रमप्रतिको नेपालको प्रतिबद्धता, वित्तीय व्यवस्थापन सुधार, लेखापरीक्षणका सुझावको कार्यान्वयन तथा कार्यक्रम सञ्चालनमा सुधारका लागि चालिएका कदमको प्रशंसा गरेको छ। साथै, नेपालसँगको दीर्घकालीन सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार गाभीको पछिल्लो निर्णयले नेपाल–गाभी साझेदारीलाई थप सुदृढ बनाउनुका साथै राष्ट्रिय खोप कार्यक्रमको दिगोपन, आगामी खोप अभियान तथा अन्य सार्वजनिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्