जन सरोकार

सुनसरी गोलीकाण्डको विरोध सिरहासम्म, न्यायको माग गर्दै प्रदर्शन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि त्यसको विरोध सिरहासम्म फैलिएको छ।

घटनाको विरोधमा सिरहाको गोलबजार र कर्जन्हा क्षेत्रमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले “सुनसरीमा मारिएका व्यक्तिलाई न्याय दे”, “गृहमन्त्रीले राजीनामा दे”, “गोली चलाउनेमाथि कारबाही गर” र “प्रहरी दमन बन्द गर” लगायतका नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

उनीहरूले प्रहरीले गोली नचलाएको दाबी गरिए गोली कसले चलायो भन्ने यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गर्दै भोलिसम्म ठोस निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

यता सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुनसरी घटनाको विरोधमा गोलबजार र कर्जन्हामा प्रदर्शन भएको पुष्टि गर्दै आन्दोलनकारीसँग छलफलको तयारी भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार हालसम्म जिल्लाको अवस्था सामान्य रहे पनि परिस्थिति जटिल बने सुरक्षा निकायसँग समन्वय गरेर आवश्यक निर्णय लिइनेछ।

यसअघि कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेर केहीबेर सडक अवरुद्ध गरेका थिए।

प्रहरीका अनुसार सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद भएपछि झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायरसमेत गरेपछि अवस्था नियन्त्रणबाहिर गएपछि गोली चलाइएको प्रहरीको दाबी छ। गोली लागेर घाइते भएका ओमप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.