राजनीति

सामाजिक सद्भाव जोगाउन एमालेको अपिल, सरकारको भूमिका शंकास्पद रहेको आरोप

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला केही दिनदेखि विकसित तनावपूर्ण अवस्था, सुरक्षा निकायको बल प्रयोग तथा त्यसक्रममा स्थानीय ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी अध्यक्ष तथाा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जारी गर्नुभएको वक्तव्यमा विभिन्न स्थानमा गोली लागी थप नागरिकको मृत्यु भएको तथा अन्य सर्वसाधारण घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिपको छ।

एमालेले वर्तमान परिस्थितिमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालालाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

भ्रामक सूचना र उत्तेजनात्मक गतिविधिबाट सचेत रहँदै राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।

वक्तव्यमा सरकारले नागरिकको जीउधनको सुरक्षा गर्दै संवादमार्फत समस्या समाधान गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिप्रति सरकारको भूमिका सन्तोषजनक नरहेको टिप्पणी गरिएको छ। हिंसात्मक गतिविधि तत्काल रोक्न र वार्ता तथा संवादमार्फत समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरिएको छ।

एमालेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको पनि जनाएको छ। राजनीतिक प्रतिस्पर्धा र आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न साझा प्रयास गर्नुपर्ने पार्टीको धारणा छ।

वक्तव्यमा द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्र वर्तमान संकटको निकास सम्भव हुने बताइएको छ।

साथै राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव संरक्षणका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हितका पक्षमा एकजुट हुन एमालेले आह्वान गरेको छ।

विज्ञप्तिको पूर्णपाठ

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता, आज सिरहाका गणेश यादवको गोली लागेर भएको दुःखद निधन र अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।

अमानवीय क्रम रोकिनुको सट्टा झन् उग्र बन्दै आज सिरहा लगायतका विभिन्न स्थानहरूमा समेत गोली लागी थप नागरिकहरूको ज्यान गएको खबरले हामीलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ । यस हिंसामा ज्यान गुमाउनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

यस जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूसँग म निम्नअनुसार अपिल गर्दछु:

१. संयमता र सामाजिक सद्भाव:
नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेता-कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नकालागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु ।

२. सरकारको गैरजिम्मेवार भूमिका र मौनता:
नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व हो । तर, राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भर्त्सनायोग्य छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।

३. दलहरूबीच राजनीतिक सहकार्य:
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप-प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक छ ।

४. राष्ट्रिय एकता र शान्तिका लागि आह्वान:
द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन । संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ ।

राष्ट्रको अस्तित्व, शान्ति-सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.