कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँगसमेत संवाद गर्ने जनाएको छ ।
सुनसरीको कप्तानगञ्जको घटना र सोपश्चात् तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडातहसम्म नै सो पहल गर्ने निर्णय गरेको हो ।
बैठकले सुनसरीलगायत पछिल्ला दुःखद् घटनामा ज्यान गुमाउनुभएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले घटनाको सत्यतथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।
साथै कांग्रेसले न्यायिक छानबिन समिति गठन, गर्न घाइते भएकाको निःशुल्क उपचार, समुचित व्यवस्थापन, तोडफोड र आगजनी भएका धनसम्पत्तिको क्षतिपूर्ति दिलाउने कुरामा सरकारलाई निरन्तर प्रश्न र खबरदारी गर्नुपर्ने जनाएको छ ।
कांग्रेसका लागि यस सङ्कटपूर्ण र संवेदनशील घडीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै यसको जिम्मेवारपूर्वक पहलकदमी लिने जनाएको छ ।
कांग्रेसको नेतृत्व रहेको मधेस प्रदेश सरकार र स्थानीय सरकार तथा जनप्रतिनिधिले नागरिकको सुरक्षा तथा सामाजिक सद्भाव, सहिष्णुता, घाइते परिवारलाई आवश्यक सहयोग पुर्याउन तथा सामाजिक सद्भाव अभियानका लागि विशेष अग्रसरता लिने निर्णय गरेको छ ।
प्रदेश, जिल्ला र स्थानीय सबै तहका समितिले तत्तत् तहमा युवासँग छलफल र संवाद गर्ने, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेशसभा सदस्य, कांग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्य तथा तहगत कार्यसमितिका सबैले आआफ्नो जिल्लामा उपस्थित भई समुदायसँग संवाद गर्ने, घाइतेसँग र परिवारसँग भेट्ने, सामाजिक सद्भावका लागि पहलकदमी लिने कांग्रेसको निर्णय छ ।
पार्टीको कोही पनि सदस्यहरूलाई घटनासँग जोडिएका कुनै पनि संवेदनशील विषयमा तत्काल प्रतिक्रियात्मक नभई सत्यतथ्य बुझेर मात्र धारणा बनाउन कुनै पनि मिथ्या सूचना, अफवाह वा उत्तेजनामा नलाग्न तथा हिंसा, उत्तेजना फैलाउने वा त्यस्ता कार्यलाई प्रोत्साहन हुने कुनै पनि कार्य नगर्ने र गर्न नदिने बैठकको निर्णय छ ।
साथै पार्टीको कुनै पनि तह र तप्कामा जिम्मेवारीमा रहेको व्यक्ति वा सदस्य हिंसामा सरिक भएको वा सामजिक सद्भाव र सहिष्णुता खल्बलाउने कार्यमा सहभागी भएमा त्यो कार्य पार्टीका लागि अस्वीकार्य हुने र विधानबमोजिम कारबाही हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
कांग्रेस सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाडौँमा उपलब्ध मधेस प्रदेश र सुनसरी मोरङलगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको उपस्थित थियो ।




प्रतिक्रिया राख्नुहोस्