आफ्नी आमा र आफूलाई अपशब्दले गाली गर्नेहरुलाई मोदीको माफी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै युवाको नेतृत्वमा भएको प्रदर्शनका क्रममा आफ्नी आमा र आफूविरुद्ध अपशब्द प्रयोग गर्ने प्रदर्शनकारीहरूलाई क्षमा गर्न चाहेको बताउनुभएको छ।
प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति अनलाइनमार्फत सक्रिय रहेको ककरोच जनता पार्टी (सिजेपी) ले प्रश्नपत्र चुहावटको विरोधमा नयाँ दिल्लीसहित विभिन्न सहरमा व्यापक प्रदर्शन आयोजना गरेपछि आएको हो।
प्रारम्भमा परीक्षाको प्रश्नपत्र चुहावटको विरोधबाट सुरु भएको आन्दोलन पछि बेरोजगारी, सुशासन र सरकारी कार्यशैलीप्रतिको असन्तुष्टिसम्म विस्तार भएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक नाराबाजी गरेका केही युवाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो।
त्यसपछि ती प्रदर्शनकारीहरू प्रधानमन्त्रीका समर्थकबाट सामाजिक सञ्जालमा आलोचना र दुर्व्यवहारको सिकार बनेका थिए भने उनीहरूविरुद्ध प्रहरीमा उजुरीसमेत दर्ता गरिएको थियो।
प्रहरीले मेटा र एक्स लगायतका सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूलाई प्रधानमन्त्रीलाई लक्षित गरी प्रकाशित अपमानजनक तथा भ्रामक सामग्री हटाउन निर्देशनसमेत दिएको जनाएको छ।
शुक्रबार राति आफ्नो इन्स्टाग्राम खातामा सार्वजनिक गरिएको भिडियो सन्देशमा ७५ वर्षीय प्रधानमन्त्री मोदीले भन्नुभयो, “जन्तर–मन्तरमा के भयो भन्ने कुरा देश र संसारले देख्यो। केही उच्छृङ्खल युवाले अत्यन्तै अशोभनीय शब्द प्रयोग गरे।”
उहाँले थप भन्नुभयो, “सभ्य समाजमा प्रयोग गर्न नसकिने शब्दहरू प्रयोग गरिए। ती शब्दहरू केवल मलाई मात्र होइन, मेरी स्वर्गीय आमाप्रति पनि लक्षित थिए। म उहाँहरूलाई क्षमा गर्न चाहन्छु।”
प्रधानमन्त्री मोदीले युवावस्थामा हुने गल्तीलाई कानुनी कारबाहीभन्दा उचित मार्गदर्शनमार्फत सुधार गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो। प्रदर्शनकारीविरुद्ध दर्ता भएका प्रहरी मुद्दालाई संकेत गर्दै उहाँले युवालाई सही दिशा देखाउनु नै दीर्घकालीन समाधान हुने बताउनुभयो।
गत महिना सुरु भएको आन्दोलनको मुख्य कारण सरकारी परीक्षाको प्रश्नपत्र चुहावटप्रति युवामा बढ्दो असन्तुष्टि थियो। तर आन्दोलन क्रमशः बेरोजगारी, सुशासन र सरकारी उत्तरदायित्वको मागसँग जोडिँदै व्यापक बनेको थियो। आन्दोलन चर्किएपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको थियो।
प्रदर्शन सुरु भएयता प्रधानमन्त्री मोदीले विशेषगरी युवासँग प्रत्यक्ष संवाद गर्न इन्स्टाग्रामको प्रयोग बढाउनुभएको छ। यही सामाजिक सञ्जालमार्फत ककरोच जनता पार्टी (सिजेपी) ले पनि आफ्नो अभियान विस्तार गरेको थियो।
हाल प्रधानमन्त्री मोदी नेतृत्वको दलका इन्स्टाग्राममा करिब ९६ लाख अनुयायी रहेका छन् भने गत मे महिनामा स्थापना भएको सिजेपी का अनुयायीको संख्या २ करोड ६० लाखभन्दा बढी पुगेको बताइएको छ।




प्रतिक्रिया राख्नुहोस्