विश्व समाचार

मेसेजिङ एप टेलिग्रामका संस्थापक दुरोभविरुद्ध रुसको आतङ्कवाद अभियोग

रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले मेसेजिङ एप टेलिग्रामका संस्थापक पावेल दुरोभमाथि आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै उहाँलाई अन्तर्राष्ट्रिय वाञ्छित सूचीमा राखेको घोषणा गरेको छ ।

यो कदमलाई टेलिग्राममाथि रुसले लगाएको प्रतिबन्ध र इन्टरनेटमाथि सरकारी नियन्त्रण कडा बनाउने अभियानकै निरन्तरता मानिएको छ ।

एफएसबीले जारी गरेको विज्ञप्तिअनुसार टेलिग्राम प्रशासनले युक्रेनी गुप्तचर निकाय, आतङ्कवादी तथा चरमपन्थी समूहले प्रयोग गरिरहेका विभिन्न च्यानल, च्याट र बोट हटाउन असफल भएको आरोप लगाइएको छ ।

ती माध्यमहरू रुसभित्र तोडफोड, आतङ्कवादी गतिविधि, सामूहिक हत्या तथा साइबर ठगीका योजना बनाउन र समन्वय गर्न प्रयोग भएको तथा त्यसबाट मानवीय क्षति पुगेको एफएसबीको दाबी छ ।

रुसमा जन्मिएर व्यावसायिक यात्रा सुरु गर्नुभएका दुरोभ हाल विदेशमा बस्दै आउनुभएको छ । यस वर्षको सुरुमै उहाँले रुसी अधिकारीहरूले आफूविरुद्ध आपराधिक अनुसन्धान थालेको जानकारी दिँदै त्यसलाई गोपनीयता र अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयासको हिस्सा भएको आरोप लगाउनुभएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले पछिल्ला वर्षहरूमा इन्टरनेटमाथिको नियन्त्रण उल्लेखनीय रूपमा कडा बनाएको छ । विशेषगरी सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममाथि थप कडाइ गरिएको छ ।

त्यस क्रममा फेसबुक, इन्स्टाग्राम, एक्स, सिग्नल, भाइबर, युट्युब, ह्वाट्सएप र टेलिग्रामजस्ता लोकप्रिय डिजिटल प्लेटफर्ममाथि विभिन्न प्रकारका प्रतिबन्ध वा पहुँच नियन्त्रण लागू गरिएको छ । यद्यपि केही प्रयोगकर्ताले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर ती प्रतिबन्ध छल्ने प्रयास गर्दै आएका छन् ।

यसैबीच, रुसले ‘म्याक्स’ नामक राष्ट्रिय सन्देश एपलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ । आलोचकहरूले उक्त एप प्रयोगकर्तामाथि निगरानी बढाउन प्रयोग हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

विकासकर्ता र सरकारी अधिकारीहरूले भने यसलाई सन्देश आदानप्रदान, सरकारी सेवा र भुक्तानीलगायत सुविधा समेटिएको एकीकृत डिजिटल प्लेटफर्मका रूपमा प्रस्तुत गरेका छन् ।

उक्त एपले आवश्यक पर्दा प्रयोगकर्ताको विवरण सरकारी निकायलाई उपलब्ध गराउने जनाएको छ भने यसमा अन्तदेखि अन्तसम्मको इन्क्रिप्सन सुविधा नरहेको विज्ञहरूको भनाइ छ ।

दुरोभले अन्य देशमा पनि कानूनी अनुसन्धानको सामना गरिरहनुभएको छ । सन् २०२४ मा टेलिग्राम लागुऔषध तस्करी र बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीको वितरणजस्ता गैरकानूनी गतिविधिमा प्रयोग भएको आरोपमा उहाँलाई फ्रान्सको राजधानी पेरिसमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.