जन सरोकारबिशेष

सुन तस्करीको नयाँ शैली : वैदेशिक रोजगारीबाट फर्किने नेपालीको दुरुपयोग

सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्किने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा संगठित गिरोहको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ।

पछिल्ला वर्षहरूमा सुन तस्करीका गिरोहले दुबई, कतार, साउदी अरेबियालगायत मुलुकबाट फर्किने नेपाली श्रमिकलाई आर्थिक प्रलोभन देखाएर ‘कुरियर’का रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेपछि सुरक्षा निकायले विशेष सतर्कता अपनाएको हो।

नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष सूचना जारी गर्दै पछिल्ला केही दिनयता दुबई, कतारलगायत मुलुकबाट फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति तथा दलालले निश्चित रकम दिने प्रलोभनमा सुनका बिस्कुट, बहुमूल्य धातु वा अन्य सामान नेपाल ल्याउन लगाउने प्रयास भइरहेको जनाएको छ।

कार्यालयका अनुसार यस्ता गतिविधि संगठित सुन तस्करीको हिस्सा हुन्। आफूले बोकेको सामानको वास्तविक प्रकृतिबारे जानकारी नभए पनि कानुनअनुसार जिम्मेवारी सामान बोकेको व्यक्तिमाथि नै आउने भएकाले यात्रुहरू विशेष सावधान रहनुपर्ने प्रहरीले जनाएको छ।

नेपालमा पछिल्ला केही वर्षयता विमानस्थलबाट हुने सुन तस्करीमा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली प्रयोग भएका थुप्रै घटना सार्वजनिक भएका छन्।

सुरक्षा निकायले विभिन्न समयमा दुबई, कतार, मलेसिया तथा खाडी मुलुकबाट आएका यात्रुको लगेज, जुत्ता, ज्याकेट, बेल्ट, विद्युतीय उपकरण, चकलेट, प्रेसर कुकर, राइस कुकर, मिक्सर, मोटरका पार्टपुर्जा तथा अन्य सामानभित्र लुकाएर ल्याइएको सुन बरामद गर्दै आएको छ।

कतिपय घटनामा यात्रुले सामान आफूले नकिनेको र विदेशमै कसैले नेपालमा आफन्तलाई दिन भनेर दिएको बताएका थिए। अनुसन्धानबाट भने यस्ता अधिकांश घटना संगठित तस्करी सञ्जालसँग जोडिएको खुलेको थियो। कतिपय अवस्थामा यात्रुलाई सामान्य पारिश्रमिक दिने सर्तमा सुन बोकाइएको पाइएको थियो।

नेपालमा हालसम्म सार्वजनिक भएका ठूला सुन तस्करी प्रकरणहरूले पनि तस्करी सञ्जालले प्रत्यक्ष रूपमा आफैं सुन नबोकी सामान्य यात्रु, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक वा भरियाको प्रयोग गर्ने रणनीति अपनाउने गरेको देखाएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार सुन तस्करहरूले समयअनुसार आफ्नो शैली परिवर्तन गर्दै आएका छन्। सुरुमा शरीरमा बाँधेर वा झोलामा लुकाएर सुन ल्याउने प्रवृत्ति बढी देखिए पनि अहिले विद्युतीय उपकरण, लुगा, मेसिनका पार्टपुर्जा, ब्रेक सु, चकलेट, खाद्य सामग्री, झूटा तल भएको सुटकेस, व्यक्तिगत प्रयोगका सामग्री तथा अन्य वस्तुभित्र लुकाएर ल्याउने प्रवृत्ति बढेको छ।

नेपालमा चर्चित बनेको ६० किलो सुन तस्करी प्रकरणपछि सुरक्षा निकायले विमानस्थलमा निगरानी कडा बनाएसँगै तस्करहरूले ठूलो परिमाण एकैपटक ल्याउनुभन्दा सानो–सानो परिमाण धेरै व्यक्तिमार्फत भित्र्याउने रणनीति अपनाउन थालेको अनुसन्धान अधिकारीहरूको भनाइ छ।

विमानस्थल सुरक्षा कार्यालयले अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परी सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन, आफ्नो झोला तथा सामानमा रहेका वस्तुको वास्तविक विवरणबारे जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न तथा भन्सारसम्बन्धी प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

कार्यालयले अवैध सुन ओसारपसारमा संलग्न पाइए सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम अनुसन्धान तथा कारबाही हुने स्पष्ट गरेको छ।

साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि, अपरिचित व्यक्तिको प्रलोभन वा सुरक्षा जोखिम देखिए तत्काल नेपाल प्रहरी वा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।

सुरक्षा निकायका अनुसार धेरैजसो श्रमिकले आफू अपराधमा संलग्न भएको नभई कसैको सामान मात्र ल्याइदिएको दाबी गर्ने गरेका छन्। तर कानुनले सामानको जिम्मेवारी बोकेको व्यक्तिलाई नै उत्तरदायी ठहर गर्ने भएकाले सामान्य आर्थिक प्रलोभनमा परेर सुन वा अन्य बहुमूल्य वस्तु बोक्नु अन्ततः जेल सजाय र ठूलो जरिवानासम्म पुग्ने जोखिम हुने अधिकारीहरू बताउँछन्।

पछिल्ला घटनाक्रमले सुन तस्करीका गिरोहले वैदेशिक रोजगारीबाट फर्किने नेपालीलाई सजिलो माध्यमका रूपमा प्रयोग गर्न थालेको देखिएकाले सरकारले सबै यात्रुलाई सजग र सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.