ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, १९ जना घाइते
ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख (एसपी) गौतम मिश्रका अनुसार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस बिहान करिब १०ः३० बजे ग्वार्को फ्लाइओभरको संरचनामा ठोक्किएर दुर्घटनामा परेको हो।
दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुर सूर्यविनायक बस्दै आउनुभएकी ४० वर्षीया जेनिशा लामाको उपचारका क्रममा बी एन्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले बस चालक काभ्रेको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्दै आउनुभएका ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
घाइतेहरुको बी एन्ड बी र ग्लोबल अस्पतालमा उपचार भैरहेको छ । बी एण्ड बीमा उपचाररत रामेछाप घर भई भक्तपुर सूर्यविनायक बस्दै आउनुभएकी २३ वर्षीया सुन्निमा योन्जन को शरीरको भित्री भागमा गम्भीर चोट लागेको छ।
यसै गरी कञ्चनपुर घर भई भक्तपुर बस्दै आउनुभएका २४ वर्षीय तुल्सी धानुक सामान्य घाइते हुनुभएको छ भने भक्तपुरकी ४० वर्षीया कविता कार्की को टाउकोमा चोट लागेको छ।
सिन्धुलीको मरिण गाउँपालिका–३ घर भई भक्तपुर बस्दै आउनुभएका ३३ वर्षीय धनकुमार ढोङ को बायाँ खुट्टामा सामान्य चोट लागेको छ।
भक्तपुरको मध्यपुर थिमि–६ निवासी ३७ वर्षीया लक्ष्मी श्रेष्ठ को बायाँ हात र कम्मरमा चोट लागेको छ भने भक्तपुरको चाँगुनारायण–७, सरस्वतीखेलकी २४ वर्षीया रशिला दुलाल को कम्मरमा सामान्य चोट लागेको छ।
बसका सहचालक भक्तपुर सरस्वतीखेल निवासी ६० वर्षीय कृष्णराम थापाको बायाँ खुट्टा भाँचिएको छ र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यस्तै काभ्रेको बनेपा–१४ घर भई हाल भक्तपुर सरस्वतीखेल बस्दै आउनुभएकी ४१ वर्षीया अमृता कार्की को दायाँ हात र कम्मरमा चोट लागेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका–५ निवासी ४० वर्षीया कविता केसी को टाउकोमा सामान्य चोट लागेको छ।
यसै गरी ग्लोबल अस्पतालमा दोलखा घर भई भक्तपुर सूर्यविनायक बस्दै आउनुभएका २४ वर्षीय विवेक दाहाल, सिन्धुली घर भई भक्तपुर सूर्यविनायक बस्दै आउनुभएकी १९ वर्षीया भगवती खत्री, भक्तपुर मिलनचोक निवासी ४७ वर्षीया भगवती खत्रीको उपचार भैरहेको छ ।
भक्तपुरकी २८ वर्षीया जुनु शिल्पकार, ललितपुर महालक्ष्मीस्थानकी ४९ वर्षीया तुल्सीदेवी खड्का, महोत्तरी घर भई हाल भक्तपुर गठ्ठाघर बस्दै आउनुभएकी २१ वर्षीया अन्जु साह, काठमाडौं ठमेल घर भई सूर्यविनायक बस्दै आउनुभएका २७ वर्षीय आशुतोष श्रेष्ठको पनि सोही अस्पतालमा उपचार भैरहेको छ ।
त्यसै गरी सिन्धुपाल्चोक घर भई हाल ललितपुर भैंसीपाटी बस्दै आउनुभएकी ३६ वर्षीया स्तर देउजा तथा भारतका नागरिक भई हाल भक्तपुर कौशलटार बस्दै आउनुभएका ४५ वर्षीय मोहम्मद समिम उपचाररत हुनुहुन्छ।
प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहे पनि गम्भीर घाइतेहरूको सघन उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्