खेलफूटबल

व्यावसायिक योजना असफल भए पनि अध्यक्ष इन्फान्टिनोलाई फिफा नेतृत्वको साथ

विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबीच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ ।

साथै, विश्वकपसँग सम्बन्धित विवादास्पद व्यावसायिक प्रस्ताव प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको स्वीकार गर्दै फिफाले त्यसका लागि औपचारिक रूपमा माफी पनि मागेको छ ।

फिफाले जारी गरेको विज्ञप्तिअनुसार मोरक्कोको रबाटमा बसेको सङ्कट बैठकमा महासचिव म्याटियास ग्राफस्ट्रोम तथा व्यवस्थापन बोर्डका सदस्यहरूले इन्फान्टिनोप्रति पूर्ण विश्वास दोहोर्‍याएका छन् ।

बैठकमा विश्वकपसँग सम्बन्धित ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ नामक व्यावसायिक सहायक कम्पनीमार्फत अघि बढाइएको प्रस्तावमा गल्ती भएको स्वीकार गरिएको र त्यसलाई फरक ढङ्गले अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको जनाइएको छ ।

फिफाले फिफा काउन्सिल तथा सदस्य सङ्घहरूलाई पत्र पठाएर प्रक्रियागत कमजोरीप्रति क्षमायाचना गरेको र भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ । संस्थाले एफएफईसम्बन्धी प्रस्ताव अब पूर्ण रूपमा फिर्ता लिइएको पनि स्पष्ट पारेको छ ।

महासचिव ग्राफस्ट्रोमले यसअघि फिफाका कर्मचारीहरूलाई पठाएको इमेलमा पछिल्ला घटनालाई ‘दुःखद र निन्दनीय’ भन्दै विवादास्पद योजनाबाट आफूलाई अलग राख्नुभएको थियो ।

यद्यपि पछिल्लो बैठकमा उहाँले अध्यक्ष इन्फान्टिनोप्रति समर्थन व्यक्त गर्नुभएको फिफाले जनाएको छ । इन्फान्टिनोले पनि महासचिवप्रति आफ्नो विश्वास दोहो¥याउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि फिफाभित्रको समर्थनका बाबजुद बाह्य दबाब भने बढिरहेको छ । प्रिमियर लिग, ला लिगा र सिरी एसहित युरोपेली फुटबल लिगहरूको सङ्घले एफएफई प्रस्तावलाई ‘खतरनाक’ भन्दै फिफाको शासन प्रणाली, आन्तरिक संस्कृति र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । सङ्घले सबै सरोकारवालाको औपचारिक सहभागिता सुनिश्चित हुने गरी शासन सुधार गर्न आग्रह गरेको छ ।

उक्त सङ्घले विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाको पनि विरोध गर्दै सुधार नभएसम्म फिफाका नयाँ प्रतियोगिता वा विस्तार योजनालाई समर्थन नगर्ने चेतावनी दिएको छ ।

पोर्चुगलका पूर्वकप्तान तथा रियल म्याड्रिडका पूर्वखेलाडी लुइस फिगोले पनि इन्फान्टिनोलाई पदबाट हट्न आग्रह गर्दै उहाँले फिफाको संस्थागत प्रतिष्ठामा क्षति पुर्‍याएको टिप्पणी गर्नुभएको छ ।

यसैबीच, सन् २०३० को विश्वकपको फाइनल आयोजना गर्न मोरक्कोलाई समर्थनको आश्वासन दिएको भन्ने बेलायती सञ्चारमाध्यमको दाबीलाई फिफाले अस्वीकार गरेको छ । फिफाका प्रवक्ताले अध्यक्ष इन्फान्टिनोले कुनै देशलाई यस्तो वाचा नगरेको र प्रतियोगिताको फाइनलस्थल उचित समयमा नियमित प्रक्रियाअनुसार तय गरिने बताउनुभएको छ ।

बुधबार नै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि इन्फान्टिनोमाथि आफ्नो विश्वास समाप्त भएको बताउँदै वरिष्ठ सल्लाहकारहरूसँग पर्याप्त परामर्श नगरी ‘गम्भीर शासनगत त्रुटि’ गरेको आरोप लगाउनुभयो । सन् २०२६ को विश्वकपमा इन्फान्टिनोसँग विभिन्न कार्यक्रममा सहभागी हुनुभएका कार्नीले अहिले आफूलाई उहाँप्रति विश्वास नरहेको स्पष्ट गर्नुभयो ।

पछिल्ला घटनाक्रमले आगामी मार्चमा हुने फिफा अध्यक्षीय निर्वाचनअघि इन्फान्टिनोको नेतृत्वमाथि थप दबाब सिर्जना गरेको छ । युरोपेली फुटबल महासङ्घ (युइएफए)ले विवादास्पद योजना अघि बढे विश्वकप बहिष्कारसम्म गर्ने चेतावनी दिएको थियो भने उत्तर तथा मध्य अमेरिका र क्यारिबियन फुटबल महासङ्घ ९कन्काकाफ० ले पनि फिफा नेतृत्वले फुटबलभन्दा अन्य प्राथमिकतालाई अघि सारेको आरोप लगाएको छ ।

फिफाभित्र पनि असन्तुष्टि देखिएको छ । विश्व फुटबल विकास प्रमुख आर्सेन वेङ्गरले एफएफई योजनाबाट आफूलाई अलग राख्नुभएको छ भने अध्यक्षका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले हालै राजीनामा दिनुभएको थियो । प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले नेतृत्वको पारदर्शिताको अभावले कर्मचारीहरू निराश भएको टिप्पणी गर्नुभएको छ ।

यस्ता विवादबीच पनि इन्फान्टिनो आगामी मार्चमा हुने निर्वाचनमा चौथो तथा अन्तिम कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.