विश्व समाचार

जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति

जर्मनीको कोब्लेन्ज जिल्ला अदालतमा मङ्गलबार सुरु भएको सुनुवाइका क्रममा ८१ वर्षीय एक वृद्धले सन् १९९४ मा अमेरिकी पर्यटकको यौन दुर्व्यवहारपछि हत्या गरेको स्वीकार गरेका छन् ।

जर्मनीको गोपनीयतासम्बन्धी कानुनका कारण नाम सार्वजनिक नगरिएका ती व्यक्तिले २४ वर्षीया अमेरिकी पर्यटक एमी लोपेजको हत्या गरेको स्वीकार गरेका हुन् ।

उनका वकिल भोल्कर क्लाइनले सुनुवाइका क्रममा अपराधको पूर्ण स्वीकारोक्ति प्रस्तुत गर्नुभएको थियो । मुख्य न्यायाधीश रूपर्ट स्टेहलिनले प्रतिवादीलाई स्वीकारोक्ति सत्य हो कि होइन भनेर सोध्दा उनले सहमति जनाएका थिए ।

सरकारी वकिलका अनुसार सन् १९९४ सेप्टेम्बर २६ मा कोब्लेन्ज भ्रमणमा रहनुभएकी लोपेजलाई ती व्यक्तिले झुक्याएर एहरेनब्रेटस्टाइन किल्लाको एकान्त स्थानमा लगेका थिए । त्यहाँ उनले लोपेजमाथि यौन दुर्व्यवहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।

लोपेजको शव घटनाको केही समयपछि नजिकै खेलिरहेका बालबालिकाले फेला पारेका थिए । लामो समयसम्म अनसुल्झिएको उक्त घटनाको अनुसन्धान नयाँ प्रविधिबाट पुरानो डीएनए पुनः विश्लेषण गरेपछि अघि बढेको हो ।

अनुसन्धानका क्रममा घटनास्थलमा भेटिएको डीएनए प्रतिवादीसँग मेल खाएको पाइएको जर्मन समाचार संस्था डिपिएले जनाएको छ ।

प्रतिवादीलाई गत फेब्रुअरीको अन्त्यतिर कोब्लेन्ज क्षेत्रको एक स्याहार केन्द्रबाट पक्राउ गरिएको थियो । उनी त्यसयता पुर्पक्षका लागि थुनामा छन् ।

मुद्दाको सुनुवाइका लागि आठ दिन तोकिएको छ भने आगामी सेप्टेम्बरमा फैसला आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.