पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।
राजमार्गको पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
आज बिहान ७ः०० बजेको समयमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । पहिरो खसेको स्थानमा सडक खुलाउने तथा अवरोध हटाउने तयारी भए पनि निरन्तर पहिरो झरिरहेका कारण तत्कालै काम सुरु गर्न सक्ने अवस्था नरहेको भट्टराईले बताउनुभयो ।
राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सवारीसाधन बाटोमै रोकिएका छन् । उक्त मार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारीसाधन सञ्चालन हुन्छ ।
प्रहरीले पहिरो प्रभावित क्षेत्रमा अनावश्यक रूपमा आवतजावत नगर्न तथा सडक खुल्ने अवस्था नआएसम्म यात्रु तथा चालकलाई सुरक्षित स्थानमा रहन प्रहरी प्रशासनले सबैमा अनुरोध गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्