सप्तरीमा दुई वर्षीया बालिकाको हत्या : सौतेनी आमाको स्वीकारोक्ति
सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा दुई वर्षीया बालिका खुसी खातुनको हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेकी उनकी सौतेनी आमा मुस्कान खातुनले हत्या गरेको स्वीकार गरेकी छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा सौता रुबिना खातुनसँगको विवादका कारण बालिकाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।आइतबार बिहान घरअगाडि खेलिरहेकी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुसी खातुन अचानक हराएकी थिइन्।
परिवारजनले खोजी गर्दा नभेटिएपछि इलाका प्रहरी कार्यालय रुपनीमा खबर गरिएको थियो। त्यसपछि प्रहरी, स्थानीयवासी र परिवारजनको संयुक्त खोजीका क्रममा घरपछाडिको झाडीमा बालिकाको शव फेला परेको थियो।
घटनापछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएकी मुस्कान खातुनले सोधपुछका क्रममा बालिकाको हत्या गरी शव घरपछाडिको झाडीमा फालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार मुस्कान र बालिकाकी जैविक आमा रुबिना खातुनबीच केही समयदेखि बोलचालसमेत बन्द हुने गरी विवाद रहेको खुलेको छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ। पक्राउ परेकी मुस्कानविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सोमबार अदालतबाट म्याद थप्ने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण, हत्या कसरी गरियो र अन्य कुनै व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। शव परीक्षण प्रतिवेदनपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ। बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेको पनि प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले सत्यतथ्य छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। पछि प्रहरीले अवस्था नियन्त्रणमा लिएपछि यातायात सञ्चालन पुनः सामान्य भएको थियो।




प्रतिक्रिया राख्नुहोस्