जन सरोकार

भोटेकोशी बाढी: विभिन्न जिल्लाका ९७ जना अझै सम्पर्कविहीन, खोजी कार्य तीव्र

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न जिल्लाका कम्तीमा ९७ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूले सम्बन्धित व्यक्तिको विवरण सङ्कलन गर्दै खोजी तथा उद्धारका लागि समन्वय गरिरहेका छन्।

सबैभन्दा बढी कैलालीका ४० जना सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका उनीहरूको हालसम्म परिवारसँग सम्पर्क हुन सकेको छैन।

सम्पर्कविहीनहरूको यकिन विवरण सङ्कलन गरी सम्बन्धित निकायसँग समन्वय गरेर खोजी कार्यलाई तीव्र बनाइएको उहाँले बताउनुभयो।

बाँकेका २२ जना पनि सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरूमध्ये १६ जना बाँकेका स्थायी बासिन्दा, चार जना बाँकेमा अस्थायी रूपमा बसोबास गर्ने नेपाली नागरिक र दुई जना भारतीय पर्यटक हुन्।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सम्पर्कविहीन व्यक्तिहरूको फोटोसहितको विवरण तयार गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार सम्पर्कविहीनमध्ये सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक, नेपाली सेनामा कार्यरत केही कर्मचारी तथा रसुवा क्षेत्रमा रोजगारी, अध्ययन, जलविद्युत् आयोजना र भ्रमणका सिलसिलामा गएका व्यक्ति रहेका छन्।

प्रशासनले थप व्यक्ति सम्पर्कविहीन भएको जानकारी भए तत्काल जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा स्थानीय तहमा सूचना दिन आग्रह गरेको छ।

यसैबीच, रोल्पाका १६ जना पनि सम्पर्कविहीन भएका छन्। सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका ६ जना बाढी प्रभावित क्षेत्रमा कामका लागि गएका थिए। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रोल्पाले सम्पर्कविहीन व्यक्तिको विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेका छन्।

महोत्तरीका १० जना पनि सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरू रसुवास्थित विभिन्न जलविद्युत् आयोजनामा कार्यरत वा कामका सिलसिलामा त्यहाँ पुगेका थिए।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीनहरूको अवस्थाबारे यकिन जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो।

त्यस्तै, सर्लाहीका नौ जना अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूमध्ये केही गोसाइँकुण्ड तीर्थयात्रामा गएका थिए भने केही त्रिशूली–३बी जलविद्युत् आयोजनामा कार्यरत थिए।

आयोजनामा आएको बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले पनि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

प्रशासनले सम्पर्कविहीन व्यक्तिको यकिन विवरण सङ्कलन गरी खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाएको छ।

यसैबीच, बाँके जिल्ला प्रशासन कार्यालयले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा एकद्वार प्रणालीमार्फत आर्थिक सहयोग गर्न जिल्लावासीलाई अपिल गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.