रसुवा बाढी : नेपालतर्फ रहेका करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन
बुधबार विहान चीनको तिब्बत हुँदै नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण दुवैतर्फ ठूलो जनधनको क्षति पुर्याएको छ। घटनापछि दुवै देशका सरकारबीच खोजी तथा उद्धार कार्यमा निरन्तर समन्वय भइरहेको चीनले जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चीन र नेपालबीच विपद्पछिको खोजी तथा उद्धार कार्यका लागि घनिष्ठ सम्पर्क र समन्वय भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार दुवै देशका सम्बन्धित निकाय संयुक्त रूपमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमा जुटिरहेका छन्। उहाँका अनुसार नेपालतर्फ प्रभावित क्षेत्रमा रहेका करिब १०० चिनियाँ नागरिक पनि हालसम्म सम्पर्कविहीन रहेका छन्।
काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको अवस्था र विवरण यकिन गर्ने काम गरिरहेको छ।
पत्रकार सम्मेलनका क्रममा विपद्बाट प्रभावित विदेशी नागरिकबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लिनले प्रारम्भिक जानकारीअनुसार सम्पर्कविहीनमध्ये पर्यटक र तीर्थयात्री दुवै समूहका नागरिक रहेको बताउनुभयो।
उहाँले विपत्तिको प्रभाव अझै कायम रहेकाले प्रभावित क्षेत्रबाट विस्तृत सूचना सङ्कलन र तथ्याङ्क प्रमाणीकरणको काम जारी रहेको पनि जानकारी दिनुभयो।




प्रतिक्रिया राख्नुहोस्