जन सरोकारबिशेष

भोटेकोशीमा लेदोसहित पानीको सतह बढ्यो- उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशी नदीमा आज शुक्रबार पुनः पानीको सतह बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा लेदोसहित पानीको बहाव बढेको र थप बाढी आउन सक्ने जोखिम रहेकाले भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारण, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिम क्षेत्रमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन तथा अवस्था जटिल देखिए तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।

यसैबीच, चीनको तिब्बतस्थित ग्यिरोङ क्षेत्रबाट प्राप्त पछिल्लो सूचनाअनुसार पहिरोले थुनिएको नदीमा बनेको अस्थायी तालमा पानीको सतह निरन्तर बढिरहेको छ। निरन्तर वर्षाका कारण आगामी केही दिनसम्म जलस्तर अझै बढ्ने अनुमान गरिएको चिनियाँ पक्षले नेपाललाई जानकारी गराएको छ।

चिनियाँ अधिकारीहरूका अनुसार तालको प्राकृतिक बाँध कमजोर भई पानीको बहाव एक्कासि बढ्न सक्ने जोखिम रहेकाले सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ। जोखिमका कारण ग्यिरोङ क्षेत्रमा उद्धार कार्यसमेत अस्थायी रूपमा स्थगित गरिएको छ भने उद्धार टोलीलाई सुरक्षित स्थानमा राखिएको जनाइएको छ।

चिनियाँ पक्षबाट प्राप्त यही सूचना र नदीको बहावको अवस्थालाई आधार मानेर नेपालका सम्बन्धित निकायले पनि भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा सतर्कता बढाएका छन्। प्राधिकरणले नदी किनार, निर्माणस्थल तथा प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न सबैमा आग्रह गरेको छ।

भोटेकोशी बाढी : सीमापार क्षेत्रमा विशाल ताल बनेको चीनद्वारा जानकारी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.